वन ऐन संशोधन गर्न सुझाव संकलन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ११ गते ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय, हेटौँडाले प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लाई संशोधन गर्न सुझाव संकलन सुरु गरेको छ ।

ऐन संशोधन गर्न तयार पारिएको मस्यौदा माथि वन, वातावरण क्षेत्रका सरोकारवालाहरूबाट राय सुझाव संकलन गर्न मन्त्रालयले आइतबार हेटौँडामा परामर्श बैठक सम्पन्न गरेको छ ।

बहुसरोकारवालाहरू सहभागी परामर्श बैठकमा मन्त्रालयका प्रदेश सचिव डा. केदार बराल, महाशाखा प्रमुखद्वय शिव सापकोटा र प्रदीपनाथ शर्माले सहजीकरण गर्नुभएको थियो ।

छलफलमा नेपाल वन प्राविधिक संघ बागमती, मकवानपुर वन प्राविधिक समाज, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, पारिवारिक निजी वन महासंघ, कवुलियती वन महासंघ, हिमवन्ती नेपाल, वन पैदावार व्यवसायी महासंघ, जडिबुटी व्यवसायीलगायत सरोकारवाला संघसंस्थाहरूका प्रतिनिधिहरूले ऐनमा समावेश गर्नुपर्ने र हटाउनु पर्ने विषयवस्तुहरूमा रायसुझाव प्रस्तुत गर्नुभएको थियो ।

सरोकारवालाहरुसँगको छलफलपछि राय सुझाव संकलनपछि प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार गरिनेभएको छ ।

कार्यक्रमको समापनमा प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले सबै सरोकारवालाहरू र नागरिकले अपनत्व लिनेगरी अबको ऐन आउनेमा आश्वस्त हुन आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles