खासकुरा संवाददाता
हेटौँडा, जेठ २० गते ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी मावि (प्राविधिक शिक्षालय) मा सञ्चालित एक महिने उद्यमशीलता तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकि नगर प्रमुख मीनाकुमारी लामाले विद्यार्थीको लागि पहिलो प्राथामिक अध्ययन हो भने साथमा सीप पनि आवश्यक रहेको बताउनुभयो । 

उहाँले विद्यालयले सीपमूलक तालिम सञ्चालन गरेर निकै महत्वपूर्ण कार्य गरेको र हेटौँडाको अग्रणी विद्यालय भुटनदेवी माविमा यस्तो सृजनात्मक र सीपमूलक कार्य गरेर शिक्षाको दायरालाई फराकिलो बनाएको बताउनुभयो ।

वडा ४ नं. वडाका वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले भुटनदेवी मावि आफैमा प्राविधिक शिक्षालय भएकोले औपचारिक शिक्षाका साथै विद्यार्थीको शारिरीक, मानसिकलगायत चौतर्फी विकासमा विद्यालयले विभिन्न सीपमूलक र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले शिक्षामा सुधार गर्ने हो भने प्राविधिक र सीपमूलक शिक्षामा सबै तहको सरकारले विद्यालयमा लगानी गर्नुपर्ने बताउँदै यस्तो कार्यक्रमको निरन्तरता दिने जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले ईलेक्टिकल २० जना, व्यूटी पार्लर २० जना र कपाल काट्ने २० जना एक महिने तालिम ६० जनालाई प्रदान गरिएको र विद्यालयको आन्तरिक श्रोतबाट बजेट व्यवस्थापन गरी सीपमूलक तालिम सञ्चालन गरिएको बताउनु भयो ।

तालिममा सहभागी विद्यार्थी र प्रशिक्षकले तालिम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको बताउनुभयो । उहाँहरूले यस्तो कार्यक्रमलाई विद्यालय र सरकारले प्राथमिकताका साथ सञ्चालन गर्नुपर्नमा जोड दिनुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थापन समिति सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सहप्रधानाध्यापक भरत पोखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, मावि संयोजक संगीता उप्रेती, प्रावि संयोजक मुकुन्द न्यौपाने, प्रशिक्षकहरू ज्ञानेन्द्र देवकोटा( ईलेक्टिक), किरण अधिकारी (हेयर कटिङ्ग), सकुन्तला बानियाँ (व्यूटिपार्लर)लगायतको उपस्थिति रहेको थियो ।




