हेटौँडा, जेठ २७ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौरका गृहिणी महिला मौरीपालन तालिम सुरुभएको छ ।
मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको गृहिणी महिला सशक्तिकरण परियोजना अन्तर्गत नव चेतनशील समाज नेपालको आयोजनामा सञ्चालित एक हप्ते तामिल आयोजना गरिएको हो ।

तालिमको यसअघि उद्घाटन गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले घरधन्दा तथा खेतीपातीका काममा व्यस्त रहने गृहिणीहरुका लागि यस तालिमले उद्यमशील बनाउँन सहयोग पुर्याउने बताउनुभयो ।

‘सीप सिकेर उद्यमशील बन्ने विषय चानचुने होइन ।’ अध्यक्ष स्याङ्तानले भन्नुभयो, ‘आफ्नै गाउँघरमा आएको तालिममा सक्रियतापूर्वक सहभागी बनेर आर्थिक आम्दानी बढाउन लागिपर्नुस् ।’ महिलाहरुको क्षमता, सीप विकास गराउँदै उनीहरुलाई स्वरोजगार बनाउँने काममा पालिका लागिपरेको स्याङ्तानको भनाई छ । यस तालिमपछि बुढीचौर क्षेत्रको चिनारी मौरी र महका लागि कायम होस् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो ।

पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले आफूहरु विभिन्न सीप मुलक तालिम सञ्चालन गर्दै उद्यमशील तथा स्वरोजगार बनाउने कार्य गरिरहेको बताउनुभयो ।

‘ब्युटिसियन, ब्याग, गलैँचा बुन्नेजस्ता सीपमुलक तालिम सञ्चालन गरी उद्यमशील बनाउन सहयोग गरिरहेका छौँ ।’ उपाध्यक्ष पाख्रिनले भन्नुभयो ।

पालिकाको ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बजगाईँ, ८ नम्बर वडाध्यक्ष कुमारसिं घिसिङ, वडा सदस्य गोकुल देवकोटाले बुढीचौरमा सञ्चालन गरिएको मौरीपालन सम्बन्धी तालिम अत्यन्त प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

यही ३१ गतेसम्म सञ्चालन हुने तालिममा नेपाल मौरीपालक महासंघका केन्द्रीय कोषाध्यक्ष जनकबाबु तिवारीले सहजीकरण गर्नुभएको छ ।




