बागमती सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार

लोकप्रिय

हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको आकार चालू आर्थिक वर्षको अनुपातमा वृद्धि गरिएको छ ।

चाल आवको भन्दा दुई अर्ब ९३ करोड ६८ लाख ९६ हजार रुपियाँले वृद्धि गरी आगामी आवको बजेट ल्याइएको हो ।
प्रदेश सभाको आइतबारको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै बजेट कार्यान्वयनले समृद्ध बागमती प्रदेश निर्माणको सोच पुरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री काफ्लेले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट प्रदेश सभामा पेस गर्नुभयो ।

चालु आवमा ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बराबरको बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेटमा चालु २६ अर्ब चार करोड ४६ लाख ९१ ह्जार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपियाँ रहेको छ ।

कूल बजेटको ३८.६ प्रतिशत चालुतर्फ र पुँजीगततर्फ ६१.४ प्रतिशत विनियोजित गरिएको छ ।
आगामी आवको बजेटको खर्च बेहोर्ने स्रोतहरुमा कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख एक हजार, अन्य राजस्वबाट छ अर्ब ७९ करोड चार लाख १३ हजार, संघीय वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ९३ लाख र चालु आवको अनुमानित संचित कोष र विविधबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार रुपियाँ रहेको छ ।

सरकारले आगामी आवमा सिपमूलक तालिम एक द्धार प्रणालीबाट सञ्चालन गर्ने, प्रदेश खेलकुद परिषद र प्रदेश युवा परिषद् गाभेर खेलकुद तथा युवा परिषद बनाउने, अन्य अनावश्यक संरचना खारेज गर्ने गरी बजेट ल्याएको छ ।
प्रदेशका स्वीकृत दरबन्दीका कर्मचारीले पाँच हजार रुपियाँ महंगी भत्ता उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको छ ।
यसअघि साँझ बसेको प्रदेश सरकारको मन्त्री परिषद् बैठकले आगामी आवको बजेट प्रदेश सभा प्रस्तुत गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

ताजा समाचार

Related Articles