काठमाडौँ, असार ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष हामी ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइँदैछ ।

योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवं जीवनपद्धतिका रूपमा पनि लिइन्छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको, “योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ ।” योगको माध्यमबाट हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक ऊर्जा प्राप्त हुने र आत्म प्रेरणा हासिल हुनेलगायत सकारात्मक गुणको विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवं स्थिरतातर्फ डोर्याउने भएकाले मानिसलाई स्वास्थ्यकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्याउने बताउनुभएको छ ।




