खासकुरा संवाददाता
हेटौँडा, असार ९ गते । धादिङ जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्युभएको छ ।

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङ जिल्ला गजुरी गाउँपालिका ६ बेलखु सडक खण्डमा काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ७० प ३२९७ न.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ३–०२–३७ प ७६९२ न. को मोटरसाइकल आइतबार एक आपसमा ठक्कर खाई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बा ७० प ३२९७ नं. को मोटरसाइकलका चालक तनहुँ जिल्ला वसन्तपुर ३ बस्ने वर्ष ५७ का रामचन्द्र रानाभाटको आदमघाट अस्पताल प्रा.लि.मा उपचारपछि ट्रमा सेन्टर काठमाडौँ पठाइएकोमा उपचारको क्रममा १५ः५३ बजे डाक्टरद्वारा मृत घोषण भएको थियो ।

उक्त दुर्घटनामा ७६९२ नं.को मोटरसाइकलका चालक नुवाकोट जिल्ला ककनी गापा १ बस्ने वर्ष २५ को अमित कुमार बलामीको सामान्य उपचार पश्चात् डिस्चार्ज भई इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।
७६९२ नं.को मोटरसाइकल पछाडि सवार ककनी गापा ८ शिवपुरी बस्ने वर्ष ३५ की राममाया तामाङको सामान्य उपचार पश्चात डिस्चार्ज हुनुभएको छ ।

यसैगरी पृथ्वी लोकमार्ग अन्तर्गत गजुरी गापा २ फुर्केखोला सडक खण्डमा धादिङवेशीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.४ ख ७५१ नं.को बसको सहचालक जिल्ला धादिङ निलकण्ठ न.पा.२ बस्ने वर्ष १८ को समर्पण रिजाल बस ब्याक गर्ने क्रममा अचानक बसको पछाडिको भागले ठक्कर दिँदा मृत्युभएको छ ।

बस ब्याक गर्ने क्रममा आइतबार ठक्कर दिएर घाईते भई उपचारको लागि टिचिङ अस्पताल मलेखु पठाएकोमा सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाडौँ पठाइएकोमा सोमबार बिहान ६ः५० बजे घाईतेको उपचारको क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यू भएको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
