हेटौँडा, असार २९ गते । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रम अन्तर्गत शनिबार चार जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ५ र ८, सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका ३ तथा ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका ५ का गरी चार जना गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनासँगको समन्वय र सहकार्यमा मन्त्रालयबाट हवाई उद्धार गरिएको थियो ।




