हेटौँडा, साउन १७ गते । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र मातहतका कार्यालयले प्रदेशभित्रका साढे तीन हजारभन्दा युवालाई उत्पादन र आयआर्जनसँग जोड्ने लक्ष्यसहित सिपमूलक तालिम प्रदान गरेको छ ।
तीन महिने प्राविधिक तथा व्यवसायिक सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरेको हो ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा तीन हजार छ सय जनालाई विभिन्न सिपमूलक तालिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
तालिम लिनेमा पुरुषको तुलना महिला बढी रहेको पाइएको छ ।
मन्त्रालयले वरिष्टा, व्युटिसियन, सामुदायिक कृषि सहायक, पशु सहायक, कम्प्युटर हार्डवेयर, फेशन डिजाइनर, मोवाइल मर्मत, प्लम्बिङ, मोटरसाइकल मर्मत, टेलर, मन्टेश्वरी, वेटरलगायतका तालिम प्रदान गरेको जनाएको छ । मन्त्रालयका अनुसार तालिम प्राप्त गर्नेमा दुई हजार ६३ जना र पुरुष एक हजार ५६३ जना रहेका छन् ।
सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ तालिमबाट युवामा क्षमता अभिवृद्धिसँगै स्वरोजगार तथा उद्यमशीलता अभिवृद्धि गर्न सहयोग पुगेको बताउनुहुन्छ ।
गत आवमा विज्ञान प्रविधि नवप्रवद्र्धन र विकास कोष ऐन २०८१ निर्माणसँगै बागमती विश्वविद्यालय विधान २०८१ र नियमावली निर्माण गरी जारी भएको छ ।
त्यस्तै मन्त्रालयले स्वीकृत नीति अन्तर्गत लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी नीति २०८१ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ बनाएको मन्त्री खड्गीले बताउनुभयो ।
गत आवको अवधिमा शिक्षण सिकाई सहयोग अनुदान सम्बन्धित कार्यविधि २०८१, मनोसामाजिक मनोविमर्श तालिम सञ्चालन कार्यविधि २०८१, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन कार्यविधि २०८१, सिक्दै कमाउँदै, कमाउँदै सिक्दै सम्बन्धी कार्यविधि, २०८१, सामुदायिक क्याम्पस गुणस्तर सुदृदृढीकरण सम्बन्धी कार्यविधि, २०८१ लगायतका ११ वटा कार्यविधि निर्देशिका तथा मापदण्डहरू तयार गरेको छ ।
मन्त्रालयले गत आवमा शिक्षाको पहुँच विस्तार र गुणस्तर सुधार गरी सिकाई उपलब्धि अभिवृद्धिसँगै भौतिक पूर्वाधार सबलीकरणका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्ममा कार्यक्रम सञ्चालन गरेको थियो उहाँले भन्नुभयो, नमुना विद्यालय, विद्यालय व्यवस्थापन सुधार, स्वच्छ खानेपानी र शौचालय निर्माण, घेराबार, छात्रावास, खेल मैदान र आवासीय विद्यालय सञ्चालनलगायतका कार्यक्रम गत आवमा गरिएको छ ।
मन्त्री खड्गीले विद्यालय बस कार्यक्रमले घरबाट विद्यालय पुग्न घण्टौँ पैदल हिड्नु पर्ने प्रदेशका विभिन्न स्थानका विद्यार्थीहरुको समस्याको अन्त्य भएको बताउनुभयो ।




