हेटौँडा, साउन २५ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले यही साउन २७ गते मङ्गलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने गरी तय भएको छ । बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका मुख्य सचेतक कन्चनचन्द्र बादेद्वारा जारी सूचनामा विश्वासको मत दिने दिन कांग्रेसका प्रदेश सभाका सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न भनिएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सभाको बैठकबाट आगामी मंगलबार दिनको ४ः०० बजे विश्वासको मत लिने गरी समय प्रदेश सभाका सभामुखले निर्धारण गर्नुभएको छ ।
यसैबिच शनिबार मुख्यमन्त्रीको ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा बसेको संसदीय दलको बैठकले कार्यसमिति गठन गरेको समितिका सदस्यसमेत रहनुभएका प्रदेश सभा सदस्य श्रीराम लामिछानेले जानकारी दिनुभयो ।
समितिको सदस्यहरुमा श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, कांग्रेस बागमती प्रदेश समितिका महामन्त्रीद्वय राजु श्रेष्ठ र कञ्चनचन्द्र बादेलगायतका रहनुभएको छ ।
बैठकले समितिका सदस्यमध्येबाट समितिको सदस्य–सचिवमा मीनकृष्ण महर्जनलाई चयन गरेको छ । यस्तै प्रदेश सभा सदस्यहरु छिरिङ दोर्जे लामा, विनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेको तीन सदस्यीय अनुशासन समिति बनाएको छ । अनुशासन समितिको संयोजकको जिम्मेवारी पछि तोकिने भएको छ । संसदीय दलको विधानको दफा १० को उपदफा (८) का कार्यसमितिले आफूमध्येबाट सदस्य सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था अनुसार कोषाध्यक्ष पछि चयन गरिने श्रीराम लामिछानेले बताउनुभयो । उहाँका अनुसार समितिमा सदस्यहरु छलफलपछि थप गरिनेभएको छ ।
संसदीय दलको प्रवक्ताको जिम्मेवारी सुरजचन्द्र लामिछानेलाई दिने निर्णयसमेत बैठकले गरेको । कांग्रेस संसदीय दलको बैठक साउन २७ गते मंगलबारका लागि बोलाइएको छ ।




