हेटौँडा, साउन २५ गते । नेकपा (एमाले) बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई विश्वासको मतको प्रस्तावको पक्षमा मत दिन ह्विप जारी गरेको छ । मुख्यमन्त्री बानियाँले यही साउन २७ गते मङ्गलबार दिउँसो ४ः०० बजे बस्ने बागमती प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने गरी समय प्रदेश सभाका सभामुखले निर्धारण गर्नुभएको छ ।
बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
एमाले बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक एका लाल श्रेष्ठले एमालेका प्रदेश सभाका सदस्यहरुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
प्रमुख सचेतक श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ, उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मत जाहेर गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु ।
यस्तै एमाले संसदीय दलको बैठक मंगलबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँले प्रदेश सभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
यसअघि नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री बानियाँले लिन लाग्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका बानियाँ एमालेको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।




