प्रतिष्ठानलाई एमबीबीएसका लागि ५० सिट स्वीकृति

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । चिकित्सा शिक्षा आयोगले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चालु शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ ।
प्रतिष्ठानमा यसअघि नै विभिन्न विषयमा स्नातक तहका कार्यक्रम सञ्चालनमा छन् । बीएस्सी नर्सिङ विषयको यस वर्ष २० सिटबाट बढाएर ३० सिट पु¥याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थतर्फ भने २०/२० सिट यथावत रहेका छन् । यस्तै, ब्याचलर अफ फार्मेसीमा ३० सिट यसअघि नै स्वीकृत भई सञ्चालनमा छ ।
यसैगरी यस शैक्षिक सत्रदेखि एमडीतर्फ सात वटा विषयमा अध्ययनका लागि आठ सिट स्वीकृति प्राप्त भएको छ । स्त्री तथा प्रसूतितर्फ दुई, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग , फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहेको प्रतिष्ठानले जनाएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिएसँगै हेटौँडा स्वास्थ्य र शिक्षाको हबको दिशामा अगाडि बढेको बताउनुभयो ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले चिकित्सा अध्ययनका लागि हेटौँडामा नै अवसर मिल्नु स्वास्थ्य र शिक्षा क्षेत्रका लागि सकारात्मक भएको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले प्रतिष्ठानबाट नागरिकले स्वास्थ्य र शिक्षामा दीर्घकालीन लाभ लिन सक्ने जिकिर गर्नुभयो ।
हेटौँडा अस्पतालबाट हाल दैनिक एक हजार पाँच सय भन्दा बढीले स्वास्थ्ये सेवा लिईरहेको जनाइएको छ ।
२०७६ मा बागमती प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरी प्रदेश गौरवको आयोजनाको रुपमा प्रतिष्ठानलाई अगाडि बढाइएको थियो । स्थापनाको एक वर्षपछि प्रतिष्ठानमा २०७७ साउन १५ मा प्रतिष्ठानको उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त गरिएको थियो ।

ताजा समाचार

Related Articles