खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा गायत्री रुपाखेती चयन हुनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ स्थित महेन्द्र माविमा शनिबार भएको पाँचौं अधिवेशनले रुपाखेतीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
आगामी तीन वर्षको लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुयाल र सहसचिवमा अमृता लामिछाने रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा हरिप्रसाद घिमिरे, मन्जु दाहाल, विजय दोङ, स्वस्तिका दाहाल र शिव प्रसाद बोलखे चयन हुनुभएको छ ।
झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बकैया–४ का वडाध्यक्ष लक्ष्मी जिम्बा, बकैया गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी माझी, संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्षहरू उद्धव सापकोटा, संरक्षकहरू जनार्दन खनाल, परशुराम गौतमलगायतको आतिथ्य रहेको थियो । यस्तै पुरस्कार संस्थापक चन्द्रकुमार राई, पूर्व सल्लाहकार भरत सापकोटा, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम बिक, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका महासचिव सुवास खनाल, आजीवन सदस्यहरू हयग्रीव आचार्य, बलराम घिमिरे, ओमभक्त भण्डारीलगायतको कार्यक्रममा उपस्थिचि रहेको थियो ।
तीन दशकभन्दा लामो समयदेखि मकवानपुरमा सक्रिय उक्त साहित्यिक संस्थाले उत्कृष्ट कार्य गरेवापत नगद एक लाख नगदसहित “हेमराज पहारी स्मृति पुरस्कार“ प्राप्त गरेको छ । संस्थाले आफ्नै नाममा दुई कठ्ठा जग्गा प्राप्त गरी भवन निर्माणका लागि डिपिआर समेत तयार गरिसकेको संस्थाका निवर्तमान सचिव मसान उपासकले जानकारी दिनुभयो ।
