खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्तीको अवसरमा शनिबार सप्रेम अर्चनाको’मनले अब पङ्ख उचालिसक्यो’ र विभोर बरालको’मनभित्र ब्रम्हाण्ड छ’ गजलसङ्ग्रह विमोचन गरिएको छ ।
सप्रेम अर्चना तथा विभोर बराल नेपाली गजल रचनामा सक्रिय युवा दम्पत्ति हुनुहुन्छ ।
अनाम मण्डलीको आयोजनामा काठमाडौँको गौशाला, पिंगलास्थानस्थित नेपाल सङ्गीत विद्यालयमा मण्डलीका अध्यक्ष रूपक अलंकारको सभापतित्वमा विमोचन कार्यक्रम भएको हो ।
कार्यक्रमका वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे, कवि गजलकार रवि प्राञ्जल, प्रा.डा.देवी नेपाल, प्रभाती किरण,वीरेन्द्र पाल, राधेश्याम मूल्मी, डा.रमेश पोखरेल तथा प्राचार्य रमेश पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार तथा वरिष्ठ लेखक रोचक घिमिरेले नेपाली गजलको उत्थान र प्रबद्र्धन गर्ने मोती मण्डलीको चर्चा गर्दै युवा दम्पत्ति सप्रेम अर्चना र विभोर बराललाई उनीहरूको छुट्टाछुट्टै कृतिका लागि शुभकामना प्रदान गर्नुभयो । घिमिरेले आफूलाई गेय गजल मनपर्ने भएकोले विमोचित गजलसङ्ग्रहमा गेय गजल रहेको पाउँदा हर्ष लागेको बताउनुभयो ।
कार्यक्रममा प्रभाती किरणले सप्रेम अर्चनाकृत’मनले अब पङ्ख उचालिसक्यो’ र ’मनभित्र ब्रम्हाण्ड छ’ दुवै कृतिमाथि
संक्षेपमा समीक्षात्मक टिप्पणी पेश गर्नुभएको थियो ।
अर्चनाले शास्त्रीयता कतै पनि नबिगारेर गजल रचना गरेको बताउँदै गजलमा शृङ्गार प्रधान रहेको, मुखरत र गैर मुखरत गजल समेटिएको बताउनुभयो । उहाँले गजलहरूमा विभोर शब्द धेरै ठाउँमा प्रयोग भएको उल्लेख गर्दै विभोर एक विम्ब भएको बताउनुभयो । आफ्नो जीवनसाथीको नाम विभोर
भएकोले पनि गजलमा विभोर शब्द आएको हुनसक्छ भन्ने उहाँको टिप्पणी थियो।
विभोरका गजलहरू नरिवल जस्तै बाहिर कठोर र भित्र नरम रहेको पाइन्छ र उहाँको गजलमा नेपाली लोकलयको सुन्दर प्रयोग तथा विषयगत प्रस्तुति रहेको समीक्षकले बताए ।
अनामनगरको कुनै एक होटलमा बसेर गजल सुन्ने र सुनाउने क्रममा मोती मण्डलीको अनुकरण गर्दै अनामनगरबाट शुरु भएको गजल वाचनलाई निरन्तरता दिन २०६२ मा स्थापित मण्डलीको नामाकरण अनाम मण्डली गरिएको प्रसङ्ग कार्यक्रममा स्मरण गरिएको थियो ।
कार्यक्रममा ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा.रमेश पोखरेल, राधा कँडेल, रश्मि असफल र रविका भण्डारीले गजलहरू गाएर सुनाउनुभएको सुभाषचन्द्र पौडेल’भीमफेदीया’ ले जानकारी दिनुभयो ।
