खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व न्वागी यो वर्ष चितवनको ईच्छा कामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा सामुहिक रुपमा मनाउने भएका छन् ।
नेपाल चेपाङ संघको केन्द्रीय समितिको संयोजनमा शनिबार ईच्छा कामना गाउँपालिका वडा नं ६ कालीखोलामा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले यही भदौ २२ गते सांस्कृतिक पर्व न्वागी ईच्छा कामना गापा वडा नं. ६ कालीखोलामा मनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
बैठकले अन्य जिल्ला गाउँ टोलमा २१ गतेसम्म न्वागी पर्व मनाउने र २२ गते केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रममा सहभागी हुने निर्णय गरेको उहाँले बताउनुभयो । साथै भदौ २१ गते चेपाङ समुदायले आफ्नो घरमा दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा केन्द्रीय उपाध्यक्ष सुमित्रा चेपाङ, महासचिव सन्त बहादुर चेपाङ, सचिव भरतलाल चेपाङ, कोषाध्यक्ष आईत सिं चेपाङ, केन्द्रीय सदस्यहरु लक्ष्मण चेपाङ, कृष्णबहादुर चेपाङ, फूलमति चेपाङ, दीपक चेपाङ, डिल्लीराज चेपाङ र दीपा चेपाङको उपस्थिति रहेको थियो । यस्तै, बागमती प्रदेश समिति अध्यक्ष खुशी लाल चेपाङ, गण्डकी प्रदेश अध्यक्ष कमान सिं चेपाङ, सदस्य मोनिका चेपाङलगायतको बैठकमो सहभागिता रहेको थियो ।
