खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते । बागमती प्रदेश सभाको बैठक प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल रोकिएको छ ।
प्रदेश सभाको मंगलबारको बैठकमा उक्त विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरिएकोमा अन्तिम अवस्थामा कार्यसूचीबाटै हटाइएपछि छलफल अगाडि बढ्न नसकेको हो ।
यसअघि सोमबार बैठक स्थगित गर्नु पूर्व बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले चिट्ठा विधेयकमाथि बोल्ने क्रम बाँकी रहेको र मंगलबार छलफल हुने जानकारी गराउनुभएको थियो ।
चिट्ठासम्बन्धी विधेयकमाथि छलफल गर्ने गरी कार्यसूचीमा राखिएपनि प्रदेश सभामा दफावार छलफलका लागि विभागीय मन्त्रीले विधेयक पेस गर्नु पूर्वनै विशेष समयमा सत्तारुढ दल नेकपा एमालेका प्रदेश सभा सदस्यहरु उक्त विधेयकको विरोध गरेका थिए ।
एमाले प्रदेश सभा सदस्यहरुले विशेष समयमा बोल्दै चिट्ठा विधेयक अहिले ल्याउनुको औचित्य नभएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका थिए ।
सरकारले मंगलबारनै चिट्ठा विधेयकमाथि बाँकी प्रदेश सभा सदस्यहरुले बोल्ने क्रम सकिएपछि निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो ।
एमाले प्रदेश सभा सदस्यहरुको विरोध र असन्तुष्टिपछि चिट्ठा विधेयकमाथि मंगलबार छलफल गर्ने गरी कार्यसूची बनाइएपनि एकाएक कार्यसूचीबाट हटाइएको हो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसद ढकाल सत्तारुढ दलभित्रै कुरा नमिल्दा सरकार पछाडि हटेको हुनसक्ने बताउनुहुन्छ ।
प्रमुख सचेतक ढकालले भन्नुभयो, कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल त भएको हैन तर सभामुखले अनौपचारिक रुपमा कार्यसूचीबाट हटाएको जानकारी गराउनुभयो ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलले चलचित्रसम्बन्धी विधेयक र चिट्ठासम्बन्धी विधेयक एकै पटक छलफल गरेर पारित गर्ने तयारी गरिएकोले अहिले कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा प्रदेश मामिला समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयकमाथि दफावार छलफलका लागि सोमबारको बैठकमा पेस गर्नुभएको थियो ।
विधेयक २०८० वैशाख १२ गते प्रदेश सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएकोमा तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले विधेयकमा त्रुटि रहेको भन्दै सन्देशसहित २०८० जेठ ७ गते प्रदेश सभामा फिर्ता पठाउनुभएको थियो ।
दुई वर्षपछि ल्याइएको चिट्ठा विधेयक पुनः विवादित बन्न पुगेको छ ।
सोमबार प्रदेश सभाको विशेष समयमा प्रदेश सभा सदस्य भारती पाठकले अहिले हाम्रो प्राथमिकता चिट्ठा विधेयक ल्याउनु हो भन्दै प्रश्न गर्नुभएको थियो ।
चिट्ठा विधेयक ल्याइएको प्रति असन्तुष्टि जनाउँदै उहाँले जनताको विषयसँग सरोकार राख्ने कानुन अगाडि बढाइपछि मात्र अन्य विषयमा हामीले छलफल गर्न सक्ने बताउनुभएको थियो ।
यस्तै प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले सरकारले फेरि त्यही चिट्ठा विधेयक ल्याउनुपर्ने कारण के हो भन्दै यो विषयमा प्रदेश सभालाई जानकारी गराउनु माग गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, चिट्टा विधेयक अहिलेको आवश्यकता होइन, पहिलो गाँसमा नै ढुङ्गा भने जस्तो भर्खर बनेको सरकारको पहिलो विधेयक संसदमा चिट्ठा विधेयक यो कति उपयुक्त हुन्छ ।
उहाँले मिलेमतोमा चिट्ठा विधेयक ल्याएको आरोप लगाउनुभयो ।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
