खासकुरा संवाददाता
हेटौँडा, असोज ३१ गते । सिविन बालहेल्प लाइन मकवानपुरले जोखिममा परेका बालबालिको परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ३ का वडाध्यक्ष ढलकबहादुर थापाले शुक्रबार दुई परिवारलाई खाद्यान्न वितरण गर्नुभयो । वडा कार्यालय परिसरमा वडाध्यक्ष थापाले जोखिममा परेका बालबालिकाका दुई परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो ।
वडाध्यक्ष थापाले चाडपर्वको समयमा समस्यामा परेका परिवारलाई खाद्यान्न वितरणले केही भएपनि सहयोग पुग्ने बताउनुभयो ।
प्रति परिवार २५ केजी चामल, दुई लिटर तेल, नुन, दाल, गेडागुडीसहित साबुन वितरण गरिएको थियो ।

सिविन बालहेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले हेटौँडा उपमहानगरपालिकाको वडा नं. १, ३, १०, ११ र १९ तथा
मनहरी गाउँपालिकाको वडा नं. १, ३, ५ ,७ र ९ का करिब सय जना विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो ।
विपन्न, विद्यालय छाड्ने अवस्थामा पुगेका, बालश्रमिक, बेचविखनको सम्भावना रहेकालगायत जोखिममा पर्न सक्ने अवस्थामा रहेकालाई तत्कालका लागि सहयोग स्वरुप खाद्यान्न प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसैबिच सिविन बालहेल्प लाइन मकवानपुरले मकवानपुरका दुई विद्यालयको मर्मत एवं पूर्वाधार निर्माणमा सहयोग गरेको छ ।
हेटौँडा ११ थानाभ¥याङस्थित शंकर ज्योति मावि र मनहरी गाउँपालिका ३ सिद्धकालीस्थित श्री प्रजा माविको भवन मर्मतसँगै रंगरोगन, तारबार, विद्युतीकरण र विभिन्न सामाग्री सहयोग प्रदान गरेको हो ।
शंकर ज्योति माविका सात वटा कोठाको मर्मत र २६ वटा पंखा तथा श्री प्रजामाविको छ वटा कोठाको मर्मतसँगै छ वटा पंखा प्रदान गरिएको प्रवन्धक ज्ञवालीले बताउनुभयो ।




