खासकुरा संवाददाता
हेटौँडा, असोज ३१ गते । चालु आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशको सामाजिक मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको औद्योगिक प्रशिक्षार्थी तालिमका लागि छनोट भएका १४ वटा विद्यालय तथा शिक्षालयहरुसँग सम्झौता गरिएको छ ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण अन्तर्गत दुई सय जना र बागमती प्रदेश सरकारको स्रोत तर्फको एक सय जना गरी तीन सय जनाका लागि २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिमका लागि छनोटमा परेका विद्यालय तथा शिक्षालयहरुसँग शुक्रबार सम्झौता भएको हो ।

प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्को आर्थिक सहयोगमा संचालन गर्न छनोट भएका विद्यालय तथा शिक्षालयहरुसँग परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षता तथा प्रदेशका सामाजिक विकास मन्त्रालयकामन्त्री कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसीप) सम्बन्धी अभिमुखीकरण तथा सम्झौता गरिएको थियो ।

सामाजिक विकासमन्त्री बादेले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम मार्फत विद्यार्थीहरूमा सीपको विकास भई रोजगारीको अवसर सिर्जना हुने र आत्मनिर्भरता प्राप्त हुने भएकोले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहभागीहरूलाई सुझाउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले प्राविधिक शिक्षाको महत्वका बारेमा चर्चा गर्दै छनोट भएका विद्यालय तथा शिक्षालयहरूलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
परिषद्का प्रमुख कार्यकारी निर्देशक लामाले परिषद् स्वरोजगारको माध्यमबाट आत्मनिर्भर बन्न परिषद्ले तालिमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।




