काठमाडौँ, कात्तिक २ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार बरामद गर्न र फरार कैदीबन्दीलाई पक्राउ गर्न विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले विशेष कार्यक्रम सञ्चालनको तयारी भैरहेको जानकारी दिनुभयो ।

उहाँले मन्त्रालयले निर्वाचन केन्द्रीत सुरक्षा तयारीलाई तीव्र बनाउँदै नियमित रूपमा सुरक्षा समितिको बैठक आह्वान गर्दै आएको बताउनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निश्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्ने गरी सरकारले काम अघि बढाएको उहाँको भनाइ छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, गृह सचिव र रक्षा सचिवको सहभागिता थियो । बैठकमा आन्दोलनका क्रममा लुटिएका हतियार बरामद गर्ने र फरार कैदीबन्दीलाई पक्राउ गर्ने विषयमा विशेष छलफल भएको थियो ।

आन्दोलनका क्रममा ९ सय ७८ वटा हतियार लुटिएका तथा हराएकामा अझै करिब चार सय हतियार बरामद हुन बाँकी रहेको जानकारी दिइएको छ । त्यसैगरी आन्दोलनका क्रममा फरार कैदीबन्दी मध्ये करिब ५ हजार कैदीबन्दी अझै जेल बाहिर रहेको गृहमन्त्रालयले जनाएको छ ।




