काठमाडौँ, कात्तिक ३ गते। इजरायलमा निधन भएका नेपाली नागरिक स्वर्गीय विपिन जोशीप्रति प्रधानमन्त्री सुशीला कार्कीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

जोशीको पार्थिव शरीर आज अपरान्ह इजरायलबाट काठमाडौँ ल्याइएपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।

शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससहित उच्च अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले पनि स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । मृतक जोशीको शव इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा नेपाल ल्याइएको हो।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी भागमा गरेको आक्रमणपछि विपिन जोशीसहित केही नेपाली विद्यार्थीहरू बन्धक बनाइएका थिए। इजरायली सरकारले २०२५ अक्टोबर १४ मा जोशीको निधनको औपचारिक जानकारी दिएको थियो। सो आक्रमणमा परी तत्कालै १० जना निर्दोष नेपाली विद्यार्थीहरूको पनि दुःखद निधन भएको थियो।

बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।




