यात्रा संस्मरणः
वैकुण्ठदेखि शे–फोक्सुण्डो तालः रोमाञ्चक यात्रा !
– राजेन्द्र घिसिङ (सरोवर)
यात्रा केवल घुम्न र दृष्यावलोकनका लागि मात्रै होइन । प्रकृतिको शास्वत स्वरुपलाई नजिकबाट आलिङ्घन गर्न र प्रकृतिको अन्तर भावलाई नियाल्न, श्रवण गर्न र बुझ्न पनि हो ! जुन हावा, छहरा, चराहरुको चिरबिर र नजिकैबाट बगिरहेका स्वच्छ खोलानालाको सुस्केराहरुबाट थाहा पाउन सकिन्छ । प्रकृतिको भाव बुझ्न कठिन छ तर जो प्रकृतिमा रोमाञ्चित बन्छ उसैले बुझ्दछ प्रकृतिलाई र उसैले भोग गर्छ स्वार्गीय आनन्दलाई ।
प्रकृतिको रस्वादनमा पल्केपछि संसारको सबै चिज फिक्का लाग्दोरै’छ । त्यसैले म आफूलाई सधैँ प्रकृतिमा समर्पित हुने प्रयासहरु गरिरहेको हुन्छु ।
नेपाल घुम्ने उत्कट चाहना र नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्नुपर्छ भन्ने सानैदेखिको रहर पुरा गर्ने क्रममा यसपटक डोल्पा जिल्लाको सुन्दर शे–फोक्सुण्डोलाई गन्तव्य बनायौँ, कर्णालीलाई अझ नजिकबाट नियाल्न त्यहाँको भौगोलिक अवस्थिति र कष्टप्रद जीवनयापनसँग साक्षात्कार गर्न यस पटक यसलाई गन्तव्य बनाउन छनोट गर्यौँ ।
वि.सं. २०८२ असोज १८ गतेदेखि यात्रा सुरु गर्ने योजना बनाइएतापनि अविरल वर्षाका कारण यात्रा प्रारम्भ २० गतेलाई सर्यो, असोज १९ गतेको रात साह्रै लामो झै लाग्यो । बल्लतल्ल पूर्व फाँटेर उषामय बिहानीले लामपुछ्रे ताराहरु बिलिन भएर घडीले बिहानको ४ः३० बजेको सङ्केत दियो ५ः०० बजे सबैजना जम्मा भएर निस्किने योजना थियो, रामलाल स्याङ्तान, राजकुमार मोक्तान र घनश्याम घिसिङजी अनि म जम्मा भएर निस्क्यौ कर्णालीको सुन्दर शे–फोक्सुण्डो तालको यात्रामा ! पुरै उज्यालो नभईसकेकोले लाईटको सहारामा मकवानपुरको कैलाश गाउँपालिकाको वैकुण्ठबाट यात्रा प्रारम्भ गर्यौँ । मकवानपुरबाट धादिङको वालसिङ पुग्यौ, चालिसे हुँदै मलेखुमा पुगेर पेट्रोल हाल्यौ यात्रा लामो भएकोले हामी धेरै नअल्मलिकन मलेखुबाट बिहान ७ः०० बजे हिड्यौ, अहिले मुग्लिन–पोखरा सडक अत्यन्तै राम्रो अवस्थामा रहेकोले आँबु खैरेनी, डुम्रे, दमौली हुँदै निर्धारितसमय भन्दा करीब ४५ मिनेट अगाडिनै हामी पोखरा पुग्यौ । पोखरामा खाना खाएर केही आवश्यक सामानको जोहोपछि त्यहाँबाट ११ः३० मा हामी शे–फोक्सुण्डोका लागि बाग्लुङतर्फ हानियौं, कास्की जिल्लाको सुन्दर गाउँ लुम्ले, ढिकुरपोखरी, नयाँपुल र पर्वत जिल्लाको कुस्मा मनोरम दृष्यको आश्वादन गर्दै अगाडि बढ्यौ । बाग्लुङ, म्याग्दी र पर्वतको सङ्गमस्थल मालढुङ्गाबाट बाग्लुङ कालिकालाई बाटैबाट दर्शन गर्दै सुन्दर बाग्लुङ बजार पुगियो । यसक्षेत्र पहिल्यै घुमिसकेकोले हामी सोझै बुर्तिबाङ जान त्यसतर्फ सोझियौ ।
मध्यपहाडी लोकमार्गको प्रारम्भसँगै त्यस बिन्दुदेखि अगाडिको यात्रा बिल्कुल नयाँ थियो, सयपत्री र मखमली फुल्न ठिक्क परेको दृष्यले हामीलाई पुलकित बनायो । सडकको दायाँ बाया पहेंलपुर लहलह धान झुलिरहेको दृष्यले मनलाई अझ मोहित पार्दै थियो ! कतै कालोपत्रे त कतै निर्माणाधीन कच्ची रहेको खाल्डाखुल्टी सडकको यात्राले हाम्रो शरीर बिस्तारै थाक्दै र गल्दै थियो । तर मनमा भने त्यहीँ सुन्दर र मनोरम गन्तब्य झल्झली आईरहन्थ्यो ! दिउँसो ३ बजे बुर्तिबाङ पुग्यौ खाजा खाएर यात्रालाई अगाडि बढायौ, केही समय उकालो यात्रा पछि बाग्लुङ जिल्ला छाड्दै पुर्वी रुकुम जिल्ला प्रवेश गर्यौँ, सामाजिक सञ्जालमा भाईरल चौरी बुकिडाँडा छुट्टिने पाती हाल्ने डाँडा पुग्यौ, त्यहाँ पुग्दा पानी पर्न सुरु भयो करीब ३५०० मिटर उचाईमा अवस्थित उक्त डाँडामा पानीसँगैको चिसोले निकै सतायो । त्यहीबाट तल झर्नुपर्ने रैछ बाटोको वरिपरि भेडीगोठ घुर्माईलो साँझमा पाखानै सेत्ताम्मे देखिनेगरि गोठ फर्किदै गरेको भेडाको बथान देख्दा सडक छोडेर बेलेबेला आँखा उतै पुगिरहेको थियो, रात पर्यो नयाँ बाटो, यात्रा निकै कठिन भैरा’थ्यो ! त्यो दिनको बसाइँ तकसेरा गाउँ थियो ! ६ः३० मा लुगुम गाउँ पुग्यौ त्यहाँ तकसेरा जाने बाटो सोधेर थोरै तल काक्री बजारबाट तकसेरातर्फ लाग्यौ मध्यपहाडी लोकमार्ग छोडेर कच्ची सडक हुँदै करिब ४०० किमिको यात्रा पछि राति ८ बजे पूर्वी रुकुमको ऐतिहासिक गाउँ तकसेरा पुग्यौं, हामीले दुई दिन अगाडिदेखिनै त्यहाँको होमस्टेमा सम्पर्क गरेर गएकोले हामी पुग्नेबित्तिकै हामीलाई लिन आईपुग्नुभयो । आर्गानिक खाना, पारिवारिक वातावरणसहितको बसाइँ हाम्रा लागि घरको जस्तै सहज भयो । 

यात्राको दोस्रो दिन बिहानै तकसेरा गाउँ घुम्न निस्क्यौ, ठुल्ठुला पहाडहरुको भिरालो क्षेत्रमा झुरुप्प एउटै आँगन भएका करीब ५०० घरको सुन्दर गाउँलाई धेरै बेर हेरिरहे, ९५ प्रतिशत मगर जातिको बसोबास रहेको तकसेरा गाउँ खासगरि तक अनि शेरा दुईवटा गाउँ मिलेर तकशेरा नामाकरण गरिएको रहेछ । खाम मगर भाषा, मौलिक भेषभुषा, अत्यन्तै ईमानदार मानिसहरु साँच्चै कसरी मिलेर बसेका होलान त्यत्रो गाउँमा ! तल उत्तर गंगा नदी बग्दै थियो पारीबाट हेर्दा एकैपटक सबैघरको धुरिबाट चुल्हो बलेको धुवाँ देख्दा दृष्य झन मनमोहक देखिन्थ्यो । केही क्षण त्यसहाँको रहनसहन, जीवनशैली, ऐतिहासिक पक्ष र मूल्य मान्यताका बारेमा जानकारी लियौं, त्यसपछि त्यहाँको आर्गानिक खाजा खाँदै तकशेरालाई छोड्यौ । फेरी काक्री बजार झरेर मध्यपहाडी लोकमार्गको यात्रा सुरु गर्यौ । केही छिनपछि पूर्वी रुकुम जिल्लाको सदरमुकाम रुकुमकोट पुग्यौ त्यहाँको सुन्दर कमल दहको अवलोकनपछि खाना खाएर हाम्रो यात्रा अगाडि बढ्यो । रुकुमकोटबाट दुईटा बाटो रहेकोले हामीले छोटो बाटो जाने निर्णयमा पुग्यो । तर सडक भने कच्ची थियो, पानी परेकोले सडक हिलाम्मे । रुकुमकोटबाट सिंधै तल झरेर सानो भेरी नदी पुल तरेर पश्चिम रुकुम जिल्ला प्रवेश गयौँ, बाटैमा मौलिक संस्कृति मयुर नाच हेर्ने अवसर पनि जुर्यो । केहीबेरको यात्रापछि छिनखेत हुँदै पुनः मध्यपहाडी लोकमार्गको यात्रामा जोडियो, झोलुङ्गे पुलबाट बाईक तार्दै अपह्रान्ह ४ बजे सानो भेरी र ठूलो भेरी नदीको संगमस्थल जाजरकोटको रिम्ना बजार पुग्यौ । त्यहाँ पेट्रोल हालेर हामीले आफ्नो यात्रा अगाडि बढायौ ! जाजरकोटको सदरमुकाम नालगाड र पश्चिम रुकुम आठबिसकोट नगरपालिका हुँदै तल्लुबगर पुग्दा झमक्कै साँझ परिसकेको थियो । यात्रा छोट्याउन अगाडि बढ्यौ ठाउँठाउँको झुलुङ्गे पुल हिलाम्मे सडक अनि दिनभरिको यात्राको थकानले आराम मागिरहेको थियो तर यात्रा लामो भएकोले हामीलाई फुर्सदले बस्ने छुट थिएन । राति ८ः१५ मा त्रिवेणी बजार पुगेर बास बस्ने निधोमा पुग्यौ । पश्चिम कर्णालीको नबुझ्ने भाषा साह्रै कम बोल्ने भएकोले संवादमा समस्या पथ्र्यो ! खाना खाएर दोश्रो दिनको यात्रा त्यही बिसायौ । 

तेस्रो दिन गन्तव्यतर्फ लाग्नु नै थियौ । त्रिवेणीबाट सबेरै ५ बजे निस्क्यौँ । थुप्रै झोलुङ्गे पुल अफ्ठेरो बाटोहरु पार गर्दै हामी डोल्पा जिल्लाको सुलिगाड पोस्ट पुग्यौ प्रायःले त्यही बाईक छोडेर पैदलयात्रा सुरु गर्दा रहेछन् । हामीले चाहिँ राष्ट्रिय निकुन्ज भित्रसम्म जाने निधो गरी गयौ । त्यसको लागि सदरमुकाम दुनै बजार घुम्नु पथ्र्यो, दुनै बजारमा खाजा खाएर राष्ट्रिय निकुन्जमा बाईक राखेर टिकट लिँदै पैदलयात्रा सुरु भयो । मनमा उत्सुकता अनि शरीरमा थकान थियो । कर्णाली यात्रा दोस्रो पटक थियो पहिलो पटक रारा तालको यात्रामा त्यसभेगको बारेमा धेरै जानकारी लिएको थिए । यसपटक नेपालकै ठुलो जिल्ला डोल्पा र समग्र कर्णालीको जनजीवन, रहनसहन, संस्कृति, प्रकृति, मूल्य मान्यता र भौगोलिक अवस्थितिको बारेमा जान्ने बुझ्ने बेग्र अभिलाषा थियो । भेरी नदीको तिरैतिर अगाडि बढ्यौ , माथि हेर्दा हिमालको चुचुरोहरु टल्किरहेको देखिन्थ्यो छेउमा भेरि नदी आफ्नै सुरमा सुसाउँदै गन्तब्य भेट्टाउन बगिरहेको थियो ! हाम्रो यात्रा अगाडि बढिरह्यो । करीब ३ घण्टाको हिडाई पछि कागेनी भन्ने ठाउँमा पुगेर थकान मेटानसँगै खाना खाएर अगाडि बढ्यौ । त्यहाँबाट मोबाईलमा नेटवर्क नदिने रै’छ, ठाउँठाउमा झोलुङ्गे पुल त ठाउँठाउमा काठे साँघु तर्दै यात्रा अगाडि बढायौँ ।
अपरान्हपख पानी पर्न सुरु भयो, एकछिन ओत लाग्यौ तर पानी रोकिने छाटकाट नदेखेपछि हामीले रेनकोटको सहारा लियौ ।
साँझ ५ः३० मा छेप्कामा बास खोज्यौ मिठो खाना र न्यानो सत्कारको आभाससहित तेस्रो दिनको यात्राले त्यही विश्राम लियो । 

चौथो दिन पनि अघिल्लो दिनझैँ बिहानै ५ बजे उठेर खाजा खाएर यात्रा सुरु भयो । शरीर भने झनझन शिथिल हुँदै थियो मन उहीँ गन्तव्यतर्फ । थकान मेटाउन अगाडि हिड्नुको विकल्प थिएन, करीब ४ घण्टाको यात्रापछि रेची भन्ने स्थान पुग्यौं त्यही खाना खाएर नियमित झैँ हाम्रो यात्रालाई अगाडि बढायौँ ।
त्यहाँभन्दा अगाडि यात्रा असहज र ठाडो उकालो थियो २६०० मिटरबाट ३७०० मिटर उचाईमा सिँधा माथि चड्नु पर्ने थियो । फर्कने कुरै भएन शाहस बटुल्दै अगाडि बढ्यौ साथीहरुलाई अलि गारो भयो तर मलाई खासै गाह्रो भएन किनकि त्योभन्दा अग्लो स्थानहरुको यात्रा गरिसकेको थिए, २ः३० घन्टाको ठाडो उकालो पछि शे–फोक्सुण्डो झर्ना देखिएसँगै हाम्रा सबै सारा थकान एकाएक गायव भयो । सुन्दर झर्नाको अवलोकन र ४५ मिनेट तेर्सो बाटो हिडाई पछि रिङ्मो गाउँ पुग्यो, त्यहाँको रहनसहन र जीवनशैलीको बारेमा जानकारी लियौ । हाम्रो भन्दा बिल्कुलै फरक भाषा, खेतिपाती, हावापानी, भेषभुषा र घरहरु । मन प्रफुल्लित बन्यो ! रिङ्मो गाउँ घुम्दै घुम्दै साँझ ५ः३० मा विश्वकै गहिरो ताल सुन्दर शे–फोक्सुण्डो ताल पुग्यौ । ताल नजिकै होटलमा बास बस्यौ धेरै थाकेको हुनाले त्यो दिन खाना खाएर सुत्नुमा सीमित भयो । 

पाँचौ दिनको बिहान ५ बजे उठेर हामी चार जना दुई टीममा विभाजित भयौ । भ्यु पोइन्ट दुई तिर रहेको र २/२ जना को टिमले दुईतिरैकै फोटो भिडियो संकलन गरेर शेयर गर्ने निधो गरियो । रामलालजी र राज कुमारजी देब्रेपट्टीको पोइन्टमा घनश्याम र म माथिल्लो भ्यु पोइन्टतर्फ लाग्यौ, हामी जाने पोइन्ट अलि अफ्ठेरो थियो । सूर्यको लालकिरण बिस्तारै तालमा पर्दै थियो कहिले माथि पुगौला र पुरै तालको दृष्यावलोकन गर्न पाउँला भन्ने हतार थियो १ः३० घन्टाको ठाडो उकालो हिडाईपछि ४६०० मिटरको उचाईमा रहेको तेस्रो भ्यू प्वाइन्टमा पुग्यौ जहाँबाट शे–फोक्सुण्डो ताल देखिन्थ्यो । साच्चै मैले सोचेको भन्दा सुन्दर रहेछ, एकछिन दंग परेर हेरे यति सुन्दर यति मनमोहक बयान गर्ने कुनै शब्दनै थिएन ! जब सूर्यको किरण पुरै ताल मा पर्यो तब लाग्थ्यो कुनै नामुद चित्रकारले कोरेको काल्पनिक चित्र हो कि ? निलो आकाश, वरिपरि सेतो हिमालीभिरहरु, फिक्का निलो फोक्सुन्डो ताल आहाहाः ……! तर जब मेरो काल्पनिक संसार भंग भयो म त यथार्थताको स्वर्गमा रहेछु……! निकै बेर मनमनै त्यो अलौकिक ताल अनि प्रकृतिसँग अन्तर संवाद गरे आनन्द लिए । यात्रा जतिनै कठिन भएतापनि गन्तब्यको सुन्दरताले सबै मेटाईदिँदो रहेछ ! फर्किने समय आयो । तर आँखा अगाडिको स्वर्गलाई छोडेर फर्किने मन थिएन तर फर्किनै पथ्र्यो, बिस्तारै तल झर्यौ उताको टिमसँग भेट भयो तालको किनारामा एकछिन रमाईलो गर्दै खाना खायौ र फर्किने निधो गरियो, शे–फोक्सुण्डोबाट ठीक १२ बजे फर्कियौ, ओरालो बाटो थकित शरीर निकै कठिन हुँदै थियो बिस्तारै ओर्लिदै पुनः छेप्कामा बास बस्यौ ।
छैटौँ दिन बिहान ५ बजे उठेर यात्रा सुरु गरियो र ३ घन्टाको हिडाईपछि बाईक राखेको स्थान सुलिगढ शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज पुग्यौ थकाईको सीमा थिएन ! बाईक लिएर खाना खानाको लागि दुनै बजारतर्फ लाग्यौ तर बजार भरि खोज्दा पनि खाना पाइएन सामान्य खाजा खाएर त्यहाँबाट आफ्नै गाउँतर्फ आउनका लागि हिड्यौ ! दुनै बजारबाट हिडेर बेलुका ८ बजे रुकुमकोट पुग्यौ त्यही बास बसियो ।

सातौं दिन आफ्नै गाउँलाई गन्तव्य बनाउँदै बिहान ५ बजे रुकुमकोट छोड्यौ, काक्री बजार आएर पेट्रोल हाल्यौ चिया खायौं, बिहान ११ बजे बाग्लुङ बजार पुग्यौ र त्यही खाना खायौं । तर त्यहँ पुग्दा परिवारमा अप्रिय घटना भएको खबर आयो सबै जना स्तब्ध भयो । छिटोभन्दा छिटो घर पुग्ने त्यहाँबाट दौड्यौ । राति ९ बजे थकानसँगै शे–फोक्सुण्डो तालको रोमाञ्चकतालाई मानसपटलमा लिएर घर पुग्यौं र यसरी मकवानपुरको पर्यटकीय गाउँ वैकुण्ठदेखि विश्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थल शे–शे–फोक्सुण्डोसम्मको हाम्रो अविश्मरणीय र आनन्ददायी हाम्रो यात्रा असोज २६ गते सम्पन्न गरियो । 

यात्राको सारांशः
१) कैलाश–२ बैकुण्ठ मकवानपुरदेखि शे–फोक्सुण्डो ताल डोल्पासम्म जम्मा ६४१ किलोमिटर ।
२) शे–फोक्सुण्डो ताल ३६३९ मिटर उचाईमा ।
३) २ दिन जान र २ दिन आउन पैदल यात्रा गर्नुपर्ने ।
४) पैदलमार्ग सहज ।
५) अन्य ट्रेकिङ रुटमा भन्दा यो रुटमा खाना बस्न सस्तो ।
६) शे–फोक्सुण्डो ताल अत्यन्तै सुन्दर र मनमोहक ।
सुझावः
१) काठे साँघुहरु पुरानो भई जोखिम अवस्थामा रहेकोले मर्मत गर्नुपर्ने अवस्थाको ।
२) पैदलमार्गमा एउटा होटलबाट अर्को होटलको दुरी धेरै फरकमा रहेकोले थप होटलहरु व्यवस्था हुनुपर्ने ।
३) पैदल यात्रामा ३ दिनसम्म मोबाईल नेटवर्क नदिँदा पर्यटकसँगको सम्पर्कविच्छेद हुने भएकोले नेटवर्क टावर व्यवस्था हुनुपर्ने ।
(लेखक घिसिङ मकवानपुरको कैलाश गाउँपालिका वडा नं. २ का वडाध्यक्ष हुनुहुन्छ ।)




