काठमाडौँ, कात्तिक ९ गते । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार रकम र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ ।

तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौँ बस्ने २२ वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो । दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनार बैङ्किङ कसुरमा फरार रहेको अभिलेखसमेत पाइएको बताउनुभयो ।

दुवै जनालाई नागर्जुन नगरपालिकास्थित सानो भर्याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको थियो । निजका साथबाट रु ६९ लाख ८५ हजार नगदसहित सुनको झुम्का चार थान, बाला चार थान र मोबाइल पाँच थान बरामद गरिएको थियो ।




