प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन उद्‍घाटन

लोकप्रिय

भक्तपुर, कात्तिक ११ गते । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रूपैयाँ २२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

ताजा समाचार

Related Articles