खासकुरा संवाददाता
हेटौँडा, कात्तिक ११ गते । प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न मकवानपुरका एकसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न रही हतियार प्रदर्शन गर्ने १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

विभिन्न प्रमाण (दसी) का सामानहरू सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूमा महोत्तरी जिल्ला बर्दिबास ५ घर भइ काठमाडौँ महानगरपालिका ३१ मिलिजुली चोक बस्ने २५ वर्षीय सुजन वाईवा, दोलखा जिल्ला मेलुङ गाउँपालिका ६ घर भइ काठमाडौँ महानगरपालिका ३२ महादेवस्थान बस्ने २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका ६ घर भइ काठमाडौँ महानगरपालिका ३१ ठुलो खरिबोट बस्ने २५ वर्षीय अनिल बुढा रहेका छन् ।

गोरखाको आजिरकोट गाउँपालिका ५ का २१ वर्षीय निखिल भुजेल, भारतको राजस्थान प्रदेश जयपुर ग्राम पञ्चायत घर भइ जिल्ला काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका ६ बस्ने २४ वर्षीय सोयव खान र कञ्चनपुरको महेन्द्रनगर औठपुर घर भइ ललितपुरको च्यासल बस्ने २० वर्षीय विकाश आग्रीलाई प्रहरीले प्रहरी कार्यालयहरुमा आगजनी र तोडफोडमा संलग्न भएको भन्दै पक्राउ गरेको छ ।
यस्तै, दोलखा जिल्ला शैलुङ गाँउपालिका ८ घर भइ चन्द्रागिरी नगरपालिका बलम्बु बस्ने २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरको बकैया गाउँपालिका १ का २७ वर्षीय राजेश तामाङ, काठमाडौँको नागार्जुन नगरपालिका ८ का ३२ वर्षीय मोहन तामाङ र नुवाकोटको ककनी गाउँपालिका १ का ३१ वर्षीय सुवाष तामाङलाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ ।

साथै सिन्धुलीको सुनकोसी गाउँपालिका १ का २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलिखेल नगरपालिका ११ का ४१ वर्षीय सुवाष गोतामे र कञ्चनपुरको बेलौरी नगरपालिका १ भैसाखी घर भइ टोखा नगरपालिका ५ श्रीमार्ग धापसी कृष्ण मन्दिर बस्ने २७ वर्षीय भुवन शाही पक्राउ परेका छन् ।
प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जिल्ला घर भइ कागेश्वरी मनोहरा, हरहर महादेव बस्ने २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी गाउँपालिका ७ का २४ वर्षीय गोबिन्द कुमार ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।




