काठमाडौँ, कात्तिक १६ गते। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र एपेक नेपालको आयोजनामा शनिवार इटहरीमा ‘एपेक राष्ट्रिय काव्य महोत्सव–२’ सम्पन्न भएको छ । कार्यक्रममा १४ जना कविका कवितामा आधारित भई १४ जना कलाकारहरूले कलाकृति सिर्जना गर्नुभएको थियो ।

एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठका अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि रहनुभएको थियो । विशेष अतिथिहरूमा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य मा.मिना श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक संजय वान्तवालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले साहित्य र ललितकला क्षेत्रका कार्यक्रमहरूलाई यसै वर्षदेखि अझ प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो । एपेक नेपालका महासचिव राजेन्द्र सलभले कला–साहित्यको योगदानलाई सराहना गर्दै सबै सहभागीप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तावाले कविता र चित्रकलालाई संयोजन गर्ने अवधारणा फरक र सिर्जनशील रहेको बताउनुभयो । कार्यक्रममा नारदमणि हार्तम्छाली, संजय वान्तावा, गणेश लामा, अनुराधा थापा, विक्रम श्री, यशोदा सिंह, शिव छाङ्छा राई, तिलक राई, युवराज रिजाल, डिल्लीकृष्ण आले, सुशन धिमाल, महेन्द्र राई र जे.पी. चौधरीले सिर्जना गर्नुभएको कलाकृतिको प्रदर्शनीसमेत गरिएको थियो ।




