काठमाडौं, कात्तिक १६ गते। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा असोज ३१ गतेबाट सुरु भएको ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ आइतबार सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा पनि ट्याटु कलाको पुरानो इतिहास रहेको बताउँदै यस्ता कार्यलाई आगामी दिन अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने बताउनुभयो ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस कार्यशाला तथा प्रदर्शनीले प्रभावकारी सन्देश दिएको बताउँदै यससँग सम्बन्धित नेपालका रैथाने ज्ञान तथा कलालाई संरक्षण तथा प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी तथा हिमालयन ट्याटु समिटका निर्देशक वृजेश श्रेष्ठले सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो । उहाँहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन बताउनुभयो ।
पृथ्वी श्रेष्ठ क्युरेटर रहनुभएको प्रदर्शनीमा नेपालका ७२ कलाकार र सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्विटजरल्यान्ड, ग्रिस, युएसए, मलेसिया र अस्ट्रियाका क्रमशः ७, ३, ३, १, १, २, १, १, १ कलाकारका कलाकृति समावेश थिए ।
त्यस्तै, कार्यशालामा क्यान्भास, उडकट, मूर्तिकला, कार्टुन/क्यारिकेचर विधालाई समेटिएको थियो जसमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, सुन्दर सिंख्वाल, सुरेश लवट तुलाधर, प्रद्युम्न श्रेष्ठ, पृथ्वी श्रेष्ठ, रुवीकुमारी, दिवस न्यौपाने, कृतिका मानन्धर, इन्दु थारू, जय शंकर सन श्रेष्ठ, सुजन थामी, जेनी घले, टिसा श्रेष्ठ, स्मारिका महर्जन, अमन महर्जन, सरिना लामिछाने, कर्मा टासी गुरुङ, विजेन्द्र श्रेष्ठ, विशाल राना मगर, यशस अर्याल, रिहाना परियार, सौगात श्रेष्ठ, अमिर शाक्य, नविन नाल्वोलगायतको सहभागिता रहेको थियो ।



