खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १६ गते । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटन केन्द्र बनाउने गरी छलफल सुरुभएको छ ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय सौराहाको आयोजनामा चितवनलाई बागमती प्रदेशको पर्यटन केन्द्रका रूपमा विकास गर्ने विषयमा आइतबार भरतपुरमा स्थानीय तह पर्यटन शाखा र सरोकारवालाबीच छलफल गरिएको हो ।
चितवनको पर्यटन प्रवर्धनका लागि भावी रणनीति बनाउने बारेमा सो अवसरमा छलफल भएको थियो ।

मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले छलफलको सुरुवाताले चितवनको पर्यटन विकास अब नयाँ गति र उचाइ प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासका लागि सरकारको मात्र प्रयास पर्याप्त छैन, सबैको साझा प्रयत्न आवश्यक छ उहाँले भन्नुभयो, हाम्रो पर्यटन क्षेत्र सुरक्षित छ भनेर सकारात्मक सन्देश पर्यटकसम्म पु¥याउनपर्ने दायित्व हामीमा आएको छ ।
आन्तरिक पर्यटक बढिरहेको र यसले पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएको चर्चा गर्दै उहाँले निजी क्षेत्र र स्थानीय तहसँग समन्वयात्मक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले चितवनलाई प्रदेशको पर्यटन केन्द्रको रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण र नीतिगत सुधार आवश्यक भएको भन्दै छलफलबाट प्राप्त मार्गदर्शनले चितवनको पर्यटनले नयाँ दिशा पाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रालयका महाशाखा प्रमुख प्रकाश अधिकारीले चितवनमा शाहसिक पर्यटनलगायतका पर्यटन प्रवर्धनका सम्भावनाका बारे छलफल आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतले धारणा राख्नुभएको थियो ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा चितवनलाई पर्यटकीय दृष्टिले बागमती प्रदेशको केन्द्रको रुपमा विकास गर्ने योजना राखिएको छ ।




