–मानवी बानियाँ

‘भ्रष्टाचारमुक्त नेपाल शहीदको सपना हो’
”मामु, म २ बजे आएर चिया पकाएर दिन्छु है, पीर नगर्नु ।” भ्रष्टाचार विरुद्धको जेन-जी आन्दोलनमा जानुअघि २२ वर्षीय रसिक खतिवडा खत्रीले आफ्नी आमा रचनासँग गरेको यो अन्तिम वाचा थियो । तर, भदौ २३ गते रसिक वाचा गरे जसरी आमालाई २ बजेको चिया दिन मात्र होइन कहिल्यै नआउने गरी अस्ताए । प्रदर्शनमा गोली लागेर उनको निधन भयो र उनी देशका लागि शहीद बने ।

२०६० साल माघमा काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्बर १० मा जन्मेका रसिकले होटेल म्यानेजमेन्ट पढेर आफ्नै ठूलो रेस्टुरेन्ट खोल्ने सपना बोकेका थिए । उनी परिवारका लागि भविष्यको आशा थिए । आमालाई सधैँ मामु भनेर बोलाउने रसिक नामजस्तै रसिलो स्वभावका थिए । “उ सधैँ मेरो लागि चिया बनाइदिन्थ्यो, उसले बनाएको चिया संसारकै मिठो लाग्थ्यो”, भक्कानिँदै आमा रचनाले भनिन् ।

आन्दोलनमा जाने दिन विहाना पनि रसिकले हतार-हतारमा जम्मा तीन गास भात मात्र खाएर निस्केका थिए । होटल म्यानेजमेन्टमा प्लस टु सकेका उनी नेपालमा नै आफ्नै ठुलै व्यवसाय गर्न चाहान्थे तर त्यो चाहना भदौ २३ गतको जेन्जी आन्दोलनसँगै चक्नाचुर भयो । देशको मुहार फेर्न निस्केका रसिकको आन्दोलनको क्रममा पेट र कोखामा गोली लागेर, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भयो । प्रदर्शनको दिन दिउँसो करिब साँढे १ बजे नै उनलाई गोली लागिसकेको थियो, तर आमालाई केही थाहा थिएन । साँझ उनका साथीहरुले उनको ज्याकेट र मोबाइल मात्र ल्याइदिएर र ‘क्याफेमा छ’ भनी ढाँटेका थिए । राति अष्ट्रेलियाबाट छोरीले भिडियो पठाएपछि मात्र आमाले आफ्नो छोरा अब संसारमा नरहेको थाहा पाइन । बुबा पुरुषोत्तम खतिवडा खत्री जो अहिले नेपाल टेलिकममा कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ, आन्दोलन हुनुभन्दा अघिलो दिन, भदौ २२ गते शुक्रबार, उहाँको छोरासँग अन्तिम भेट भएको थियो ।

उहाँहरु घरको कौसीमा बसिरहेको बेला रसिकले भोलिपल्ट, जेन-जी आन्दोलनमा जाने कुरा सुनाएका थिए । उहाँले छोरालाई त्यस्तो आन्दोलनमा जानुहुँदैन भनेर सम्झाउन पनि भएको थियो, तर केही लागेन । रसिकले जवाफमा भनेका थिए, “हैन बुबा, यो हाम्रो पुस्ताको आन्दोलन हो, हामीले साथ दिनैपर्छ।” छोरासँगको छोटो संवाद सम्झँदै बुबा पुरुषोत्तम भन्छन- “हामीले शून्यबाट संघर्ष गर्यौँ, बिहान ५ बजेदेखि राति १० बजेसम्म पसलमा बसेर दुःख गर्यौँ, त्यो सबै छोराकै लागि थियो । तर अहिले सबै सपना खरानी भयो।”

“अब छोरा नै नरहेपछि यो सबैको के अर्थ रह्यो?” उहाँको प्रश्न थियो ।आफ्नो एकमात्र छोरा गुमेपनि उनका परिवारले चित्त बुझाउँदै युवाहरुले देखेको भ्रष्टाचारमुक्त देशको सपनालाई साकार पारे मात्र शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन । खतिवडाको परिवारले युवाहरुको बलिदानलाई खेर जान नदिन माग समेत गरेका छन् । खतिवडाका छोरी रसिला अष्ट्रेलियामा बस्दै आएकी छिन् ।
अष्ट्रेलियामा बस्दै आएकी दिदी रसिलाका अनुसार, रसिक आमाबुबालाई एक्लै छाडेर विदेश जान चाहँदैनथे । उनलाई देशमै बसेर गर्ने संघर्ष प्यारो थियो ।

साथीभाइका लागि ज्यान दिने, अन्याय नसहने र सधैँ सहयोगी स्वभावका रसिक आफ्नो सपना पूरा गर्न विदेश जानुभन्दा नेपालमै केही गर्न चाहन्थे । आज खतिवडा परिवार आफ्नो प्यारो छोराको यादमा शोकमा डुबेको छ । उनीहरुको एउटै माग छ रसिक लगायत ४५ जना शहीदको बलिदान खेर नजाओस् र उनीहरुको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही होस् । रसिकको कोठा रित्तो छ, तर उनले छाडेर गएका यादहरु र अधुरो सपनाले परिवारलाई हरेक पल झकझकाइरहन्छ । अब सरकार र सरोकारवाला निकायले गर्ने काम रसिकजस्ता हजारौं युवाले देखेको सपनालाई साकार पार्नु हो । जसका लागि सरकारले भ्रष्टाचार अन्त्य गर्ने र युवाहरुलाई देशमै भविष्य देख्ने वातावरण सिर्जना गर्ने ठोस कदम चाल्न आवश्यक छ । –नेपाल टिभी अनलाइनबाट साभार ।




