संसदीय खुलापन र सूचनाको पहुँचमा जोड

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर ६ गते । संसद तथा संसदीय गतिविधिलाई पारदर्शी, जवाफदेही र नागरिकको चाहनामैत्री बनाउन संसदीय खुलापन र सूचनाको पहुँचमा जोड दिइएको छ ।
बागमती प्रदेशसभाको समन्वय तथा युएनडीपी/संसद सहयोग कार्यक्रमको सहकार्य र गभर्नेन्स इन्टरनेशनल नेपालको आयोजनामा शुक्रबार बागमती प्रदेश सभा सचिवालयमा भएको संसदीय खुलापन र प्रादेशिक अभ्यास विषयक छलफल कार्यक्रममा कार्यक्रममा संसदीय खुलापन र नागरिकको सूचनामाथिको पहुँच वृद्धिमा जोड दिइएको हो ।
संसदीय खुलापनको बारेमा बागमती प्रदेश सभाले गरेको छलफल भएको सो कार्यक्रममा शासन व्यवस्थाप्रति नागरिकको अपनत्व वृद्धि सुशासन स्थापना गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश सभाका उपसभामुख अपसरा चापागाईँले सत्य सूचना प्रवाह र पारदर्शितामा वृद्धिले प्रदेश सभालाई अझ बलियो बनाउने बताउनुभयो । सही सूचनाको पहिचान र जिम्मेवारीपूर्ण प्रकाशन/प्रसारणमा सचेतता अपनाउनु पर्ने औँल्याउँदै उहाँले अपुष्ट तथा गलत सूचनाले अनावश्यक विवाद सिर्जना गर्ने बताउनुभयो ।
उहाँले भाषासम्बन्धी ऐन बनेपनि नियमावलीको अभावमा प्रभावकारी कार्यान्वयनमा आउन नसकेको भन्दै प्रदेश सभाले बनाएको कानून कार्यान्वयनलाई प्रभावकारी बनाउन सचेतना वृद्धि आवश्यक भएको बताउनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा संसदीय खुलापन र पारदर्शीता बढी रहेको दाबी गर्दै खुलापन लोकतन्त्रको सौन्दर्य भएको बताउनुभयो ।
सरकार परिवर्तन र अस्थिरता ऐन कार्यान्वयनका लागि समस्या बनेको उहाँको भनाई छ ।
नेकपा एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले अभ्यास र अनुभवका दृष्टिले प्रदेशको संसदीय अभ्यास छोटो भएको भन्दै संसद र सांसदलाई नागरिकप्रति उत्तरदायी बनाउने विषय महत्वपूर्ण भएको धारणा राख्नुभयो । उहाँले विधेयक बनाउनेक्रममा नागरिकसँग पनि छलफल आवश्यक भएको भन्दै उहाँले भन्नुभयो, विधेयकलाई आम नागरिकसम्म कसरी पु¥याउने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ ।

प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले खुला संसदीय अभ्यासले सांसदलाई नागरिकसँग जोड्ने भन्दै यसले लोकतन्त्र सुदृढ गर्ने, नागरिकले संसदको गतिविधि निगरानी गर्न सक्षम बनाउने र निर्णय प्रक्रियाप्रति जनविश्वास बढाउने बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य कुमारी मोक्तानले नागरिकको आवाज राख्ने थलो प्रदेश सभानै नचल्ने गरेको भन्दै ऐन बनेपनि कार्यान्वयनमा नआउने गरको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभाका सचिव रामकुमार पौडेल र प्रदेश सभाका कानुन अधिकृत मनोजकुमार गुप्ता संसदीय खुलापन र सूचना प्रवाहमा प्रदेशले गरेका अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो ।
गभर्नेन्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक सञ्जीव घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा गभर्नेन्स इन्टरनेशनल नेपालका विज्ञ कृष्ण सापकोटा र पत्रकार राममणि दाहालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला बार एसोसियसन मकवानपुरका पूर्व अध्यक्ष अधिवक्ता अप्सरा बस्नेत, सामाजिक अभियान्ता डा. अर्पण पराजुली, सूचनाको हका अभियान्ता गुलाब चौधरी, अधिकारकर्मी कुमारी वाइवा, पत्रकार नवीन तिमिल्सनालगायतले खुला संसद र प्रादेशिक रुपमा भएका अभ्यास र सुधारका पक्षका बारेमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा विशेषधिकारी समितिकी सभापति मायादेवी शर्मा, समिता खड्गी श्रेष्ठ, यमुनादेवी श्रेष्ठ सञ्चारकर्मी, नागरिक समाज, प्रदेश सभाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles