काठमाडौं, मङ्सिर १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री बनाउने नाममा सरकारी रकम हिनामिना गरिएको आरोपमा नौजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आ.व. २०७७–७८ मा नगरसभाबाट स्वीकृत नभएको कार्यक्रमलाई जनचेतनामूलक भिडियोका नाममा अघि बढाई ‘सरिता फाउण्डेशन’ लगायतका तीन फर्मबाट प्रस्ताव मागिएको थियो । मूल्याङ्कनमा सबैभन्दा बढी अंक प्राप्त गरेको सरिता फाउण्डेशनसँग सम्झौता गरी ५० प्रतिशत पेश्की उपलब्ध गराइएकाले पनि सेट प्रक्रिया शंकास्पद बनेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा कार्यक्रम वार्षिक स्वीकृत सूचीमा नै नसमावेश भएको, लागत अनुमान बदनियतपूर्ण रूपमा तयार गरिएको, आवश्यक स्क्रिप्ट, उपकरण, गुणस्तर मापदण्ड नतोकी डकुमेन्ट्री निर्माण गराइएको, र तोकिएको मिति धेरै बितिसकेर अर्को आर्थिक वर्षमा भुक्तानी गरिएको जस्ता गम्भीर अनियमितता भेटिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, तयार गरिएको ४ वटा डकुमेन्ट्री पनि नगर प्रमुख केन्द्रित प्रचार झैँ देखिने प्रकारका रहेको, कुन विषयको जनचेतना सामग्री हो भन्ने स्पष्ट नभएको, र डकुमेन्ट्री कसैले पनि प्रसारण नगरिएको पाइएकाले सरकारी रकम दुरुपयोग भएको ठहर गरिएको हो । यसरी रु. ९ नौ लाख ९८ हजार ९२१ हिनामिना भएको प्रमाण फेला परेको आयोगको दाबी छ ।




