काठमाडौँ, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन बिहीबार सम्पन्न भएको हो ।

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो ।

अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५-२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनुभएको थियो । आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो ।




