निर्मल माविले स्वर्ण महोत्सव मनाउँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ७ गते । हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित निर्मल माध्यामिक विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा रचनात्मक कार्यक्रमहरु आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको छ ।
विद्यालयले यही मङ्गलबारबाट पाँच दिनसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।

स्वर्ण महोत्सवको बारेमा जानकारी दिन आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले विद्यालय स्थापनाको ५० औँ वर्षलाई उत्सवको रुपमा मनाउन लागेको जानकारी दिनुभयो ।
विद्यालय, शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थीलगायत समुदायको सहभागितामा स्वर्ण महोत्सव मनाउँदै सबैमा अपनत्वको विकास गर्नु महोत्सवको उद्देश्य रहेको भन्दै उहाँले महोत्सवको उद्घाटन मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।
उहाँका अनुसार महोत्सवका अवसरमा विद्यालय गीत र वृत्तचित्र सार्वजनिक, विद्यालयको अभिलेख झल्कने स्तम्भको अनावरण र निर्मल स्मारिका प्रकाशन गरिने भएको छ ।

यस्तै बुधबार पुरुष भलिबल प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाबाट, जिल्ला स्तरीय शिक्षक नृत्य प्रतियोगिताको नगर उपप्रमुख राजेश बानियाँबाट, बिहीबार बृहत स्वास्थ्य शिविरको पूर्व सांसद महेशकुमार बर्तौलाबाट, शुक्रबार नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगिताको बागमती प्रदेशका पूर्वमन्त्री कुमारी मुक्तान उद्घाटन तथा शनिबार महोत्सवको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटाबाट समापन गर्ने कार्यक्रम रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले महोत्सव अवधिभर विद्यालय परिसरमा खाना महोत्सवसमेत चल्ने जानकारी दिनुभयो ।
महोत्सव मूल आयोजक समितिका सदस्य सचिव वसन्त सिटौलाले महोत्सवका अवसरमा हाजिरी जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, स्काउट मार्च पास प्रातियोगिता, पूर्वविद्यार्थी सम्मान, लोकदोहोरी कार्यक्रमलगायत अतिरिक्त कार्यक्रम हुने बताउनुभयो । पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगपालिका १९ का वडाध्यक्ष नरनाथ सुवेदी, विद्यालयका सहायक प्रअ सुनिल लामा, शिक्षक राजेश घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

Related Articles