हेटौँडा, पुस १० गते । हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय शिक्षक नृत्य प्रतियोगितामा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन मावि प्रथम भएको छ ।
प्रतियोगितामा हेटौँडा–८ कमानेस्थित कमाने एकेडेमी दोस्रो, हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय तेस्रो र मकवानपुर एभरेष्ट बोर्डिङ स्कूल चौथो भएको विद्यालयका प्राधानाध्यापक प्रबोध बिडारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका १४ विद्यालयका शिक्षकहरुको सहभागिता थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ७ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा सहभागी अन्य विद्यालयले सान्त्वना पुरस्कार स्वरुप तीन–तीन हजार रुपियाँ प्रदान गरिएको छ ।

यस्तै स्वर्ण महोत्सवको अवसरमा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा हेटौँडा उपमहानगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई २५–१७ र २५–१५ ले र मनहरी गाउँपालिकाले थाहा नगरपालिकालाई २५–२१, २२–२५ र १६–१४ ले पराजित गरेको छ । यस्तै, आयोजक निर्मल माध्यमिक विद्यालयले ईन्द्रसरोवर गाउँपालिकालाई २५–२१ र २९–२७ ले र मनहरी गाउँपालिकाले मकवानपुरगढी गाउँपालिकालाई २५–१७ र २६–२४ ले पराजित गरेको विद्यालयले जनाएको छ ।
प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।
स्वर्ण महोत्सवको समापन शनिबार हुने भएको छ ।




