खासकुरा संवाददाता
हेटौँडा, पुस १० गते । हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित रक्तदान तथा वृहत निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।
स्वास्थ्य शिविरमा एक हजार ७५ जनाले सेवा लिएका छन् । शिविरमा आँखा, हाडजोर्नी, नाक कान घाँटी, छाला, बालरोगलगायतको जाँच गरिएको थियो । 

स्वर्ण महोत्सव अन्तर्गतको स्वाथ्य समिति संयोजक विष्णु थापाको संयोजकत्व एवम् विद्यालयका अध्यक्ष अमृत ओलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद महेश बर्तौलाको प्रमुख आतिथ्यतामा भएको थियो थियो । किवानिज क्लव अफ मकवानपुरले सहकार्यमा भएको स्वास्थ्य शिविरमा डा. प्रशान्त बिडारी नेतृत्वको १२ जना विशेष चिकित्सकको टोलीले जाँच गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले स्वास्थ्य सेवाको पहुँच नपुगेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको जानकारी दिनुभयो । यस्तै स्वर्ण महोत्सवकै अवसरमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए ।




