खासकुरा संवाददाता
हेटौँडा, पुस १७ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका ९ स्थित चित्लाङका किसानले राजकुलो सफाईमा जनश्रमदान गरेका छन् ।
स्थानीयले करिब एक किमि राजकुलो मङ्गलबार श्रमदान गरेर सफाई गरेका हुन् । चित्लाङका नेवार समुदायले सिथि नखः पर्वका दिनमा बाजागाजासहित हरेक वर्ष राजकुलो सरसफाई गर्ने परम्परा चल्दै आएका छ ।
स्थानीय राजन बलामी विगतमा सिथि नखः पर्वका दिनमा मात्र राजकुलो सरसफाई गर्ने प्रचलन रहेकोमा पछिल्ला वर्षमा पुस महिनामा समेत सफाई गर्न सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले राजकुलो पुरिने र झाँडीका कारण सिँचाईमा समस्या हुने भएपछि आलुलगायत तरकारी खेतीको समय सुरु हुनु पूर्व पुसमा पनि सफाई गर्न थालिएको बताउनुभयो ।
दुई किमिभन्दा बढी लम्बाईको राजकुलोमध्ये माझगाउँका किसान ५० भन्दा बढी किसान जम्मा भएर सफाई गरिएको उहाँको भनाई छ ।
अहिले राजकुलो सफाईको नेतृत्व गर्ने दायित्व आफूमा आएको भन्दै उहाँले माझगाउँबाट मुहानतर्फको भागमा ढलान भएकोले समस्या धेरै नरहेको भन्दै उहाँले माझगाउँमा खेतीकिसानी बढी हुने भएकोले किसान आफैले स्वतःस्फूर्त सफाई गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो कम्तिमा दुई पटक राजकुलो सफाई गरिन्छ र आवश्यकता अनुसार अन्य समयमा पनि गरिन्छ ।
स्थानीयले राजकुलो अभियानकै रुपमा सफाइ गर्दै आएका छन् । राजकुलो सफाई गर्ने दिनभन्दा दुई–तीन दिन घरघरमा पुगेर जग्गाधनीलाई खबर गर्ने गरिन्छ । किसानले राजकुलो सफाईको दिन भातखाजा आफैले व्यवस्था गर्दै आएका छन् ।
उता सिथि नखः को दिन बाजागाजासहित राजकुलो सफाई गरिन्छ र बाजाका लागि भने स्थानीय धार्मिक समितिले खर्च बेहोर्दै आएको छ ।
उहाँले राजकुलो सफाईका लागि सिथि नखः पर्वको दिन बाहेक हरेक वर्ष पुस १५ गते गर्ने गरी तय गरिएको भन्दै समितिसँगै कोषसमेत बनाउने तयारी गरिएको बताउनुभयो ।




