सुनसरीको लौकहीमा गोलीकाण्डपछि स्थानीयद्वारा प्रदर्शन

लोकप्रिय

सुनसरी, पुस १७ गते । सुनसरीको लौकही गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर विजय साहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। घटनाप्रति आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् ।  गोली चलाउने  प्रहरीलाई तत्काल कारबाहीको माग उनिहरुले गरेका छन्।

स्थानीयको प्रदर्शनका कारण सो क्षेत्र हुँदै जाने मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रदर्शनकारीहरूले “निर्दोषको हत्या बन्द गर”, “निष्पक्ष छानबिन गर” लगायतका नाराबाजी गरिरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरू लामो समयदेखि रोकिएका छन्। यस्तै प्रदर्शनकारीले स्थानीय प्रहरी बिट समेत तोडफोड गरेको छ।

सीमावर्ती क्षेत्रमा तस्करी रोक्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि क्रस फायरिङको अवस्था सिर्जना भएको प्रहरीले बताएको छ । आत्मरक्षाका लागि चलाइएको गोली लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि थप सुरक्षाकर्मी परिचालन गरी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।तर स्थानीय बासिन्दाले प्रहरीको दाबी अस्वीकार गर्दै सेटिङको पैसा नदिँदा गोली हानिएको गम्भीर आरोप लगाएका छन्।

उनीहरूले निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही नगरेसम्म शव नउठाउने अडान लिएका छन्।घटनास्थलमा अहिले पनि तनाव कायमै छ। प्रशासनले स्थानीय अगुवा र मृतक परिवारसँग वार्ताको प्रयास गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरेको छ भने घटनाबारे छानबिन सुरु गरिएको जनाएको छ। राजमार्ग खुलाउन प्रयास जारी रहे पनि स्थानीयको अडानका कारण तत्काल समाधान निस्कन सकेको छैन।

ताजा समाचार

Related Articles