हेटौँडा, पुस २३ गते । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट चार पार्टीको छ जनाको उम्मेदवारी दर्ता भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट महिला तर्फ र अन्य क्षेत्रबाट एक गरी दुई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन कार्यक्रम अन्तर्गत छ जनाको उम्मेदवारी परेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेबाट अन्यको कोटामा काठमाडौँका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसबाट चितवनकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेले तालमेल गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट अन्यतर्फ सिन्धुपाल्चोकका प्रेमप्रसाद सापकोटा र महिलातर्फ काठमाडौँकी सरोजकुमारी झाको उम्मेदवारी परेको जानकारी दिनुभयो ।
यस्तै नेपाल मजदुर किसान पार्टीको तर्फबाट राष्ट्रिय सभाको सदस्यका लागि महिलातर्फ काटमाठौँकी कविता महर्जन र अन्यतर्फ भक्तपुरकै विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय सभामा आगामी फागुन २० गते पदावधि समाप्त भई रिक्त हुने १९ राष्ट्रिय सभा सदस्यमध्ये आगामी माघ ११ गते बागमतीमा सदस्य दुई पदका लागि निर्वाचन हुँदै छ ।
आगामी फागुनमा पदावधि सकिने राष्ट्रिय सभाका सदस्य दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन् । महिलातर्फ तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका नेता बेदुराम भुषालको फागुन २० समयावधि सकिँदै छ ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्य, नगरपालिका नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । यसपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमाले रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहने व्यवस्था छ ।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको नगरपालिकाका नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतदाता सूचीमा २३७ जनाको मात्र नाम रहकोले राष्ट्रिय सभा सदस्य पदका लागि३४७ जनाको मताधिकार रहने भएको छ ।
नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलिम्बित भएका कारण मतदानबाट वञ्चित हुने हुनुभएको छ । बस्नेत कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।
प्रदेश सभा सदस्यको ५३ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको १९ मतभार रहने छ ।




