खासकुरा संवाददाता
हेटौँडा, पुस २५ गते । नेपाली कांग्रेसबाट बागमती प्रदेशसभा सदस्य रहनुभएको कुन्दन काफ्लेले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका काफ्लेले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न राजीनामा दिने तयारी गर्नुभएको हो ।

काफ्लेले पार्टीमा सल्लाह गरेर प्रदेश सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो ।
शुक्रबार दोलखाबाट फर्कदै गर्नुभएका काफ्लेले भन्नुभयो,’मैले राजीनामा दिने मनस्थिति बनाइसकेको छु । पार्टीमा सल्लाह गरेर सबै कुरा मिलेपछि राजीनामा दिन्छु ।’ । उहाँले भन्नुभयो, प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने गरी तयारी थालेको छुँ, पार्टीले निर्णय गरेसँगै प्रदेश सभा सदस्यबाट राजीनामा दिन्छु ।

शुक्रबार दोलखामा पार्टी कार्यकर्तासँगको भेटघाट र छलफलमा समेत काफ्लेले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने मनस्थिति बनाएको जानकारी दिनुभएको थियो ।
कांग्रेस नेता काफ्लेसहित चार जनाको नाम दोलखाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएको छ ।
उता कांग्रेसले जनप्रतिनिधिलाई उम्मेदवारमा सिफारिश नगर्न भने पनि कतिपय जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिश गरिएको पाइएको छ ।




