खासकुरा संवाददाता
हेटौँडा, पुस ३० गते । थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसर हेटौँडामा आठौँ थारू माघी महोत्सव २०८२ आयोजना हुने भएको छ । थारू समुदायकोमौलिक संस्कृति, संस्कार प्रवर्धन गर्ने उद्देश्यले माघ १ गते थारू माघी महोत्सव आयोजना हुने भएको हो । हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविको चौरमा माघी महोत्सव मूल आयोजक समिति, मकवानपुरको आयोजना र हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

महोत्सवकै सन्दर्भमा थारु समुदायको कला, संस्कृति, पहिचान झल्किने परम्परागत पहिरन, भेषभुषा बाजागाजा, झाँकीसहितको ¥यालीले बजार परिक्रमा गर्ने भएको छ ।
महोत्सवमा थारु जातिको परम्परागत खाद्य परिकारहरु घुङ्गी, गङ्गटा, माछा, हाँसको मासु, तेलपौर रोटी, बगिया, भक्का, बरि अदौरी, अमादीके चटनीलगायतको स्टल रहने आयोजकले जनाएको छ ।

साथै राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको नाचगानसहितकोसांस्कृतिक प्रस्तुती रहने भएको छ । महोत्सवबाट लोकसंस्कृति संरक्षणमा सहयोग पुग्ने आयोजकको भनाई छ ।




