कैलाशको आन्तरिक स्रोतको बजेट वृद्धि

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १ गते । मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिकाको बुधबार  सम्पन्न १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट दुई करोड ५१ लाख रुपियाँ थपसहित संशोधित बजेट पारित गरेको हो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेश गरेको उक्त बजेट कार्यक्रमलाई अध्यक्ष लोकबहादुर मुक्तानले निर्णायार्थ पेश गर्नुभएकोमा सभाबाट सर्वसम्मत पारित भएको थियो ।

कैलाशले चालु तर्फ आन्तरिक स्रोत तर्फबाट नौ करोड ४२ लाख रुपियाँ, पुँजीगततर्फ १५ करोड ४८ लाख रुपियाँसहित कुल २४ करोड ९१ लाख रुपियाँ संशोधित बजेट चालु आवमा कार्यान्वयनमा लाने भएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट दुई करोड ५१ लाख रुपियाँ बजेट थप गरेको हो ।
यसअघि गत असार १० मा गाउँपालिकाले ५४ करोड २९ लाख रुपियाँ बजेट ल्याएको थियो । कैलाशले उक्त बजेटमा समावेश भएको विशेष तथा सशर्त अनुदान वापतको रकम भने संशोधन गरेको छैन । कैलाशले १७ वटा आयोजनाहरु कटौती गरेको छ भने ४३ वटा योजना थप गरेको छ । १४ योजनामा रकम घटाउनुको साथै चार योजनामा रकम थप गरेको छ ।

सभामा विद्यायन समितिका संयोजक भूवन सिं घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँपालिकाको बेरुजु फस्र्यौट कार्यविधि २०८२, गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन कार्यविधि र गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए । त्यस्तै, उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालु आर्थिक वर्षको विनियोजन ऐन, बजेट तथा कार्यक्रमको संशोधित अनुमान विभिन्न एजेन्डाका विषय प्रस्तुत गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles