युवा र महिलाको अधिकार सुरक्षित गर्न मेरो उम्मेदवारीः कांग्रेस नेतृ डिना

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ २९ गते । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले युवा र महिलाको संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयन गर्न आफू निर्वाचनमा आएको बताउनुभएको छ ।
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डिनाले कांग्रेसकै कारण देश निर्वाचनमा गएको बताउनुभयो ।
पूर्वी मकवानपुरको बकैया र बागमती गाउँपालिकाका विभिन्न वडामा बिहीबार आयोजित सम्पर्क कार्यालय स्थापना र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कांग्रेस नयाँ ढङ्गले अगाडि बढेको बताउनुभयो ।

कांग्रेस नेतृ डिनाले आसन्न प्रतिनिधि सभा निर्वाचन संविधान र लोकतन्त्रको रक्षा एवं नागरिकको भावना अनुसारको विकास गर्नका लागि हो भन्दै देशभित्रै थप रोजगारीको अवसर सिर्जना गर्ने, युवाको सहभागितामा वृद्धि गर्ने र औद्योगिकीकरण गर्ने योजनाका साथ कांग्रेस चुनावमा आएको बताउनुभयो ।
२०७२ सालमा कांग्रेसको अगुवाइमा संविधान लेखियो, संविधानले महिलाको अधिकार, महिलाको स्वास्थ्यसम्बन्धी अधिकार र युवाको अधिकार सुनिश्चित गरेको छ उहाँले भन्नुभयो, संविधानमा बालबालिकाको शिक्षाको अधिकार, महिला, दलित र आदिवासी जनजाति समुदाय नीति निर्माण तहमा पुग्ने अधिकार सुनिश्चित गरिएको छ, अब कार्यान्वयन आवश्यक छ ।

उहाँले भन्नुभयो, कांग्रेसकै कारण देश निर्वाचनमय भएको छ, निर्वाचन नगरौँ भन्नेहरु पनि थिए, प्रधानमन्त्री प्रत्यक्ष निर्वाचन प्रणाली हुन्छ भने त्यतै लाग्ने भन्दै लोकतान्त्रिक संविधान खोस्नेसमेत प्रयास गरिएको थियो ।
लोकतन्त्रलाई समाप्त पार्न अन्य केही दल पनि लागेका थिए तर कांग्रेसले लोकतन्त्र भएमात्र अधिकार सुनिश्चित हुने भएकोले निर्वाचनको पक्षमा गएको हो उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले जहाँ लोकतन्त्र हुन्छ त्यहाँ जनताले बोल्न पाउँछ, विकास माग्न पाउँछ, नागरिक स्वतन्त्र हुन्छन् भन्दै कांग्रेस नागरिकको स्वतन्त्रता, अधिकार र समृद्धिको पक्षमा रहेको बताउनुभयो ।
युवा पलायन रोक्ने गरी कांग्रेसले आफ्नो नीति अगाडि बढाएको कांग्रेस उम्मेदवार डिनाको भनाई छ ।
बकैया गाउँपालिका वडा नम्बर ४ मा वडा एकाई सभापति सुनिल बोम्जनको अध्यक्षता भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश समितिका सदस्य रामशरण माझी, निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनाल, बकैया गाउँपालिकाका सभापति दिलबहादुर भोम्जनलगायतले बोल्नुभएको थियो ।

बागमती गाउँपालिका वडा नम्बर ७ मा कांग्रेस वडा एकाई सभापति फष्टबहादुर श्रेष्ठको अध्यक्षता तथा कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, क्षेत्र नम्बर १ का संघीय सचिव शङ्करकुमार पराजुली, वडा नम्बर ७ का वडाध्यक्ष उत्तर बहादुर भोलन, पूर्व वडाध्यक्ष डिल्लीप्रसाद घोरासैनीलगायतले बोल्नुभएको थियो ।
यस्तै बागमती गाउँपालिका वडा नम्बर ४ मा कांग्रेस वडा एकाई सभापति सोम घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, संघीय सचिव शङ्करकुमार पराजुली, नेपाल तरुण दलका नेता लिलाराज (सन्तोष) सापेकाटा,
नेपाल दलित महिला संघकी बागमती प्रदेश उपाध्यक्ष मनमाया परियारलगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीलगायतका विभिन्न दल परित्याग गरी २० जना कांग्रेसमा प्रवेश गरेका छन् ।

ताजा समाचार

Related Articles