काठमाडौँ, फागुन ४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए । सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो । आचारसंहिताको व्यवस्थाका कारण राजनीतिक दलले ठुला सभालगायतका कार्य गरेका थिएनन् ।

आचारसंहिताको व्यवस्था अनुसार मतदान हुने दिनभन्दा १७ दिनभन्दा अघि मात्र सभा, जुलुस गर्न पाउने व्यवस्था गरेको छ तर मतदानको दिनभन्दा ४८ घण्टाको मौन अवधिमा पनि दलले प्रचारप्रसार गर्न पाउने छैनन् । फागुन १८ गते राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार बन्द हुने छन् । यो पटक राजनीतिक दलले मुख्य प्रचारका लागि १५ दिनको समय पाएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन र निर्वाचन आचारसंहिताको अधीनमा रहेर राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका कार्य गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो । भण्डारीले भन्नुभयो, “निर्वाचन प्रचारप्रसारमा आचारसंहिता र कानुनको पूर्ण पालना सबै राजनीतिक दल र उम्मेदवारबाट हुने छ र पालना गर्नुहुने छ भन्ने विश्वास छ ।”




