वालिङ(स्याङ्जा) फागनु ४ गते । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चुनावी सभा गर्दा प्रशासनलाई खबर गर्न आग्रह गरेको छ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचन कार्यतालिका अनुसार सोमबारबाट प्रचारप्रसारका लागि जुलुस, आमसभा तथा कोणसभा गर्न पाइने व्यवस्था रहेको छ ।

चुनावलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न आग्रह गर्दै स्याङ्जा प्रशासनले खबर गरेर मात्रै सभा जुलुस गर्न आग्रह गरेको हो । निर्वाचन आचारसंहिता २०८२ अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि अर्थात आजदेखि मात्रै चुनावी प्रचारप्रसार गर्न पाइने उल्लेख छ ।

चुनावी जुलुस, आमसभा, कोणसभा वा भेला निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा निर्वाचनको आचारसंहिता २०८२ को दफा १३ अनुसार आचारसंहिताको पूर्ण पालना गर्न गराउन स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले आग्रह गर्नुभएको छ । चुनाव लक्षित जुलुस, आमसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगाडि जानकारी गराई प्रशासनबाट अनुमति लिन सुवेदीले सूचित गर्नुभएको हो । प्रशासनबाट अनुमति लिनका लागि उम्मेदवार वा दलका अख्तियार प्राप्त अधिकारीले जिल्ला प्रशासन कार्यालयको इमेलमार्फत निवेदन दिन सक्ने प्रशासनले जनाएको छ ।




