काठमाडौँ, फागुन १५ गते । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये एक हजार ६१ वटा (९९ प्रतिशत)फर्छ्यौट भएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलना आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ वटा (९ प्रतिशत) लिखित र ९७९ वटा ९९१ प्रतिशत० टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरूपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको, शिक्षक तथा कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारीसाधन प्रयोग गरेकोलगायत विषयमा रहेको उहाँले बताउनुभयो । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील छन् । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।




