एमालेमा असन्तुष्टि, अध्यक्ष पोखरेलद्वारा राजीनामा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन २४ गते । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेलले पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीको पराजय र पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेसँगै आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्न वर्तमान यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव नभएको आफ्नो घोषणामा उल्लेख गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक अन्तिमचरणमा पुग्दै गर्दा पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिबलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्ने सुझाउनुभएको छ ।
उहाँले भन्नुभएको छ, तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो, अब आउने युवालाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहनेछ । आशा छ, नयाँ युवा पुस्ताले यस पार्टीलाई सही दिशा र ढङ्गबाट अगाडि बढाउनु हुनेछ ।
साथै उहाँले पार्टीको नेतृत्वमा रहेकाले आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वले बाटो प्रशस्त गर्नुपर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles