हेटौँडा, चैत १० गते । अघिल्लो निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा मकवानपुरमा बदर मत प्रतिशत बढेको देखिएको छ ।
यस पटक मतदाता शिक्षा सञ्चालन गरिए पनि मकवानपुरमा प्रत्यक्षतर्फको बदर मत बढेको हो । २०७२ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ कुल खसेको मतको ४.६१ मत बदर भएकोमा अहिले वृद्धि भएर ५.६८ पुगेको छ । २०७२ को निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेको निर्वाचन आयोगले यस पटक मतदाता शिक्षामा ठुलो लगानी गरेको थियो । मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदातामध्ये एक लाख ८६ हजार २५९ मत खसेकोमा एक लाख ७६ हजार ३४४ सदर मत र १० हजार ६१५ बदर मत अर्थात् ५.६८ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यस पटक निर्वाचन आयोगले १५ दिनसम्म टोल टोल पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। हरेक वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो ।
मकवानपुरको १०२ बटा वडामा स्वयंसेवक र १० वटा स्थानीय तहमा प्रतिपालिका एक जना मतदाता शिक्षा अनुगमनकर्ता नियुक्ति गरिएको थियो । बागमती प्रदेशका ११९ स्थानीय तहमा मकवानपुरसँगै मतदाता शिक्षा अनुगमनकर्ता र मतदाता शिक्षा स्वयंसेवकको पारिश्रमिकमा आयोगको ठुलो धनराशि खर्च गरे पनि त्यो प्रभावकारी देखिएन ।
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाले यस पटकको मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै मतदाता शिक्षा निर्वाचनको समयमा मात्र नभएर पहिले नै दिनुपर्ने बताउनुभयो । “मतदाता शिक्षा स्वयंसेवकले औपचारिकता पु–याउन मात्र काम गरेको देखियो,“ अध्यक्ष सापकोटाले भन्नुभयो, “ अब मतदाता शिक्षाको जिम्मेवारी टोल विकास संस्थालाई दिनु पर्छ।“ मकवानपुरमा प्रत्यक्षतर्फको तुलनामा समानुपातिकतर्फ कम मत बदर भएको छ । समानुपातिकतर्फ ३.२६ प्रतिशत मत बदर भएको छ ।

मकवानपुरमा निर्वाचन क्षेत्र नं. १ को अनुपातमा क्षेत्र नं. २ मा बदर मत प्रतिशत बढी रहेको छ । मतपत्रमा ल्याप्चे हान्नेदेखि एकभन्दा बढी मत चिह्नमा मत सङ्केत गर्दा मत बदर भएको प्रदेश निर्वाचन अधिकारी ढकालले बताउनुभयो । यस पटक बागमती प्रदेशमा झन्डै एक लाख मत बदर भएको छ । प्रदेशमा खसेको २२ लाख ३५ हजार ३१३ मतमध्ये ९४ हजार ५८२ अर्थात् ४.२३ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
यस प्रदेशमा रामेछापमा सबैभन्दा बढी बदर मत प्रतिशत ५.८० र कम बदर भक्तपुरमा २.७८ प्रतिशत भएको छ । पाँच प्रतिशतभन्दा बढी मत बदर हुने जिल्लाहरुमा सिन्धुपाल्चोकमा ५.७९, मकवानपुरमा ५.६८ सिन्धुलीमा ५.५६, दोलखामा ५.२३, काभ्रेपलाञ्चोकमा ५.१३ र नुवाकोटमा ५.०३ प्रतिशत रहेको छ । प्रत्यक्षतर्फ काठमाडौँमा १४ हजार १२७ मत बदर हुँदा रसुवामा एक हजार १८८१ मत बदर भएको छ ।




