खासकुरा संवाददाता
हेटौँडा, चैत १० गते ।
नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष निमा लामा ह्योल्मोले महासंघलाई आर्थिक रूपले पारदर्शी आफूले संकल्प लिएको बताउनुभएको छ ।
महासंघको ११औँ राष्ट्रिय महाधिवेशनबाट संघीय अध्यक्ष अध्यक्षमा निर्वाचित भएपछि लामाले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै उहाँले आदिवासी जनजाति मातृभाषाहरूलाई सरकारी कामकाजी भाषा बनाउनुपर्ने र आदिवासीका लागि प्रथाजनित कानुनलाई मान्यता दिलाउन विशेष पहल गर्ने बताउनुभयो ।
उहाँले हाम्रो आन्दोलन केवल नारामा मात्र सीमित नभई, प्राप्त अधिकारको रक्षा र नीतिगत कार्यान्वयनमा पूर्ण रूपले केन्द्रित हुने भन्दै राज्यका सबै निकायमा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सडक र नीतिगत दुवै तर्फबाट राज्यलाई निरन्तर दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अबको हाम्रो आन्दोलन केवल नारामा मात्र सीमित नभई, प्राप्त अधिकारको रक्षा र नीतिगत कार्यान्वयनमा पूर्ण रूपले केन्द्रित हुनेछ उहाँले भन्नुभएको छ महासंघलाई आर्थिक रूपले पारदर्शी, सबै जातीय संस्थाहरूको समान अपनत्व हुने र डिजिटल युग सुहाउँदो आधुनिक एवं सुदृढ संस्थाको रूपमा विकास गर्ने मेरो संकल्प छ ।
साथै लामाले आफ्नो नीति, अनुभव र भिजनमाथि जुन विश्वास देखाउनुभएको छ, त्यसलाई कहिल्यै डगमगाउन नदिने भन्दै अबको आदिवासी आन्दोलन अधिकार प्राप्तिको साथसाथै आर्थिक समृद्धिसँग पनि जोडिनु आवश्यक भएकोमा जोड दिनुभएको छ ।
उहाँले अगाडि भन्नुभएको छ, हाम्रा परम्परागत सीप, ज्ञान र उत्पादनहरूलाई ’ग्लोबल इन्डिजिनस बिजनेस फोरम’ मार्फत अन्तर्राष्ट्रिय बजारसम्म पु¥याई युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने दिशामा म काम गर्नेछु ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हाम्रो थातथलो, भाषा, संस्कृति, धर्म, लिपि तथा प्राकृतिक स्रोतसाधन—जल, जंगल र जमिनमाथि आदिवासीहरूको अग्राधिकार सुनिश्चित गर्दै, विकासको नाममा हुने विस्थापन रोक्न र जलवायु परिवर्तनले पारेको असरविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो आवाजलाई अझ बुलन्द बनाउने प्रतिबद्धता जनाउनुभएको छु।

यस्तै, काठमाडौँमा यही चैत ५ गतेदेखि ८ गतेसम्म भएको अधिवेशनले वरिष्ठ उपाध्यक्ष डिलबहादुर गुरुङ, उपाध्यक्षहरू क्रमशः आङ पासाङ शेर्पा, अमृतबहादुर सुनुवार, चन्द्रलाल राजभण्डारी, रामकुमारसिंह दनुवार, चिनीमाया माझी, मनमाया छन्त्याल र जुनिता राई (शान्ति देवान) र महासचिव विमल सारु मगरलाई निर्वाचित गरेको थियो । साथै महासंघको उपमहासचिव गणेश कुमाल, सचिवहरू क्रमशः महेन्द्र दुरा, सन्तबहादुर चेपाङ, शिवचन्द्र मण्डल, शैलेन्द्रकुमार ताजपुरिया, चकचकी राजवंशी, छेवाङ बुम्छोक गुरुङ, जसवी मण्डल, बीना मम्बा तामाङ, कोषाध्यक्ष मिङमा कामी शेर्पा र सहकोषाध्यक्ष प्रभातकुमार चौधरीलाई निर्वाचित हुनुभएको थियो ।




