पोखरामा पर्यटन क्षेत्रमा आठ खर्बको लगानी

लोकप्रिय

मकवानपुर । मकवानपुर र पोखराका पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटक नेपालको पर्यटन क्षेत्रको विकासका लागि दिगो आधार भएकाृे बताएका छन् ।
होटल सङ्घ पोखरा नेपालले शुक्रबार हेटौँडामा आयोजना गरेको आन्तरिक पर्यटन प्रवद्र्धन अभियान छलफल तथा अन्तरकिया कार्यक्रमका सहभागीहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै यस्तो बताएका हुन् ।
पोखरा र आसपासको क्षेत्रको पर्यटन प्रवद्र्धनको क्रममा ‘जाउँ है पोखरा’ अभियानसहित वीरगञ्ज– विराटनगर–इलाम हुँदै हेटौँडा आएको पोखराका पर्यटन व्यवसायीहरुको टोलीले पोखराको पर्यटनलाई चलायमान बनाउन पूर्वपछि अब पोखरा पश्चिमका क्षेत्रमा अभियान चलाउने योजना रहेको बताएका थिए ।

कार्यक्रमका सहभागीहरुले नेपालमा भएका विभिन्न आन्दोलनबाट कमजोर बनेको नेपालको पर्यटन व्यवसाय पछिल्लो समय मध्यपूर्वमा भएको युद्धबाट समेत प्रभावित बनेको बताए ।
नेपालीमा पछिल्लो सयम घुमफिर गर्ने प्रचलन बढेको भन्दै कार्यक्रमका सहभागीहरुले पर्यटनसँगै समग्र अर्थतन्त्रलाई सुदृढ र सबल बनाउन आन्तरिक पर्यटनको प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रको साझा प्रयास र समन्वय आवश्यकभएको औँल्याएका थिए ।
कार्यक्रममा होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न ‘जाउँ है पोखरा’ अभियान गत २५ वर्षदेखि सञ्चालन गर्दै आएको भन्दै पोखरामा पर्यटन व्यवसायमा आठ खर्ब रुपियाँ बराबरको लगानी रहेको बताउनुभयो । उहाँले नयाँ वर्ष २०८३ को अवसरमा पर्यटन, संस्कृति र खानालाई फेवा नव वर्ष महोत्सव आयोजना  गर्न लागेको जानकारी दिँदै नेपाललाई भारतीय पर्यटकको गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभयो । पोखरामा दैनिक ४० हजार पर्यटकलाई आतिथ्यता दिनसक्ने क्षमताका होटल रहेको उहाँको भनाई छ ।

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रदेश राजधानी हेटौँडा व्यावसायिक केन्द्र बनेसँगै पर्यटकीय विकासको सम्भावना बढेको भन्दै पर्यटकीय पूर्वाधारको निर्माणसँगै प्रवद्र्धनमा लगानी आवश्यक भएको बताउनुभयो ।
होटल व्यवसायी महासङ्घ नेपालका सल्लाहकार भागीरथ शर्माले पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट ठुलो लगानी गरेपनि सरकारको प्रोत्साहनको नीतिको अभावसँगै पर्यटन व्यवसायीको समस्याको सुनुवाई नहुने गरेको बताउनुभयो ।
उहाँले नेपालका लागि भारतीय पर्यटक महत्वपूर्ण हुने भएपनि उनीप्रति सरकार र नागरिकबाट गरिने व्यवहारले नकारात्मक प्रभाव परेको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा टान गण्डकी प्रदेशका अध्यक्ष कृष्ण आचार्य, होटल एसोसियसन मकवानपुरका उपाध्यक्ष कल्याण पौडेल, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, होटल सङ्घ पोखरा नेपालका पूर्व अध्यक्ष हरि शर्मा गैरेलगायतले पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles