काठमाडौं, चैत १९ गते । नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानविनको माग गर्नुहुँदै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाउनुभयो ।
प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान दिए पनि चुनौतीको सामना गरेर अघि बढ्ने बताउनुभयो ।नेता बादलले जिज्ञासा गर्नुभयो, “कुन उद्देश्य पूर्ति गर्न भाद्र २३ र २४ गतेको घटना घटाइयो ? कुन उद्देश्यले विद्यालयका छात्रछात्राको प्रयोग गरियो ? कुन उद्देश्य पूर्ति गर्न पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई गिरफ्तार गरियो ?, कुन उद्देश्य पूर्ति गर्न देशको सार्वजनिक संरचनाहरु चलाइयो ?” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चमत्कारीक विजयका लागि उहाँले रास्वपालाई बधाई ज्ञापन गर्नुभयो । रास्वपालाई विजयी बनाउन खेल्नुभएका सबै पक्षलाई पनि उहाँले बधाई ज्ञापन गर्नुभयो ।



