हेटौँडा, चैत २९ गते । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले विगतका जिल्ला अस्पताल रिफर अस्पतालका रुपमा रहेकोमा प्रादेशिक अस्पताल बनेपछि विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालमा परिणत भएको बताउनुभएको छ । 
उहाँले देश सङ्घीयतामा गएसँगै नागरिकको स्वास्थ्य सेवामाथिको पहुँच बढ्दै गएको बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ नीतिको कार्यान्वयासँगै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पादन गरेका कार्यहरुबारे पत्रकाहरुसँगको आइतबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन गर्न निर्देशिका जारी गरिएको बताउनुभयो ।

नसर्ने रोगका कारण नागरिकको मृत्यु हुने दर बढेकोले यसलाई न्यूनीकरण गर्ने कार्यक्रम बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले अगाडि बढाएको उहाँको भनाई छ ।
उहाँले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरवको योजनाको रुपमा अगाडि बढेको भन्दै स्थानीय तहले सञ्चालन गरेका आधारभूत अस्पतालहरु जनशक्ति अभावका कारण समस्या भईरहेको अवस्थामा प्रदेश सरकारले जनशक्ति उत्पादन गरेर ती आधारभूत अस्पतालहरुमा पठाउने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
नागरिकलाई स्वस्थ बनाउन स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी होइन, अन्य मन्त्रालयको पनि त्यतिकै भूमिका रहन्छ उहाँले भन्नुभयो, प्रदेश सरकारले अन्य मन्त्रालयलाई पनि जोडेर स्वास्थ्य नीतिमा स्वास्थ्य निर्देशिका जारी गरिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले आधारभूत स्वास्थ्य सेवा नागरिकको अधिकार भएको भन्दै प्रादेशिक अस्पतालले प्रदान गर्ने स्वास्थ्ये सेवालाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो ।
उहाँले स्वास्थ्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना सबै मन्त्रालय, अस्पताल र जनस्वास्थ्य कार्यालयमा तयार भएको भन्दै प्रदेश मातहतका १३ वटै अस्पतालबाट विशेषज्ञ मानसिक स्वास्थ्य सेवा प्रवाह भईरहेको जानकारी दिनुभयो ।




