काठमाडौँ , वैशाख १३ गते । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २७औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपास्थित उहाँको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गर्नुभयो । उहाँले प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वको स्मरण गर्दै प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताउनुभयो । नेता पोखरेलले अधिकारी नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई उहाँले जेलजीवनसमेत बिताएका स्मरण गर्नुभयो ।

कार्यक्रममा एमाले नेता प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय राजनीतिमा केही पुस्ताको नाममा अतिवादी सोच हाबी भएको बताउँदै परिपक्व नेतृत्वको मार्गदर्शन र युवा ऊर्जाको संयोजनबाट मात्र देश बन्ने बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको धारणा राख्नुभयो । त्यस अवसरमा वक्ताहरूले पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता भएको भन्दै उहाँको योगदानको चर्चा गरेका थिए ।




